तेह्रथुम । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ आज (२०८० मङ्सिर २८ गते) १५औँ दिन यात्रा टोली तेह्रथुम जिल्लाको वसन्तपुर पुगेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीेको नेतृत्वमा अधिकांश शीर्ष नेताहरू सम्मिलित टोली विहान भोजपुरबाट हिडेर धनकुटा हुँदै तेह्रथुमको बसन्तपुर पुगेको हो ।
बसन्तपुरमा आयोजित विशाल जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो । सो अवसरमा अध्यक्ष ओलीले नेपालीको एउटै समस्या गरिबी र अभाव भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपाल र नेपालीका साझा शत्रु हुन् । यी समस्याको समाधान र देशको विकास नेकपा (एमाले)को नेतृत्वमा मात्र सम्भव छ ।
गलत बाटो लिएर सही ठाउँमा पुग्न सकिन्न
अध्यक्ष ओलीले हाम्रो देशको विकास हामीले नै गर्न सक्छौँ भन्नुहुँदै नेकपा (एमाले) शान्तिपूर्ण ढङ्गले देश विकासमा दृढसङ्कल्पित रहेको बताउनुभयो । अध्यक्ष ओलीले शान्ति विना देशको विकास नहुने विचार व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण ढङ्गले आफ्ना विचार राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– गलत बाटो लिएर सही ठाउँमा कोही पनि पुग्दैन, पुगेको छैन ।
अहिले देशमा वितण्डा मच्चाउन अनेक खालका काम भएको र त्यसमा सरकारमा रहेका मानिसहरूको संलग्नता रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरेर मुलुकलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा व्यवसायीकरण र वैज्ञानिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । देशभरि कुन ठाउँमा कस्तो विशेषता छ त्यही अनुसारको आधुनिक कृषि प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– माटो अनुसारको खेतीपाती गर्नुपर्छ, अब ससानो होइन ठूलो मात्रामा उत्पादन गर्नुपर्छ ।
नेपाली जनतामा देशको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डतालाई तलमाथि पर्न नदिने सङ्कल्प रहेको अध्यक्ष ओलीले बताउनुभयो । विश्वका ठूला ठूला देश उपनिवेश हुँदा पनि नेपाल कहिल्यै उपनिवेश नभएको गौरवपूर्ण इतिहास रहेको उहाँले स्मरण गर्नुभयो ।
एनसेल विक्री प्रकरणमा सरकारको संलग्नता
अहिले सरकारमा रहेकाहरू सुन तस्करी गरेर बसेको उहाँले बताउनुभयो । एनसेल बिक्री प्रकरणमा पनि सरकारको संलग्नता रहेको र सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल कौडिको भाउमा अर्को कम्पनीमा नामसारी गर्न लगाएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।
सङ्कल्प यात्रा मिसन–२०८४ को एउटा अङ्ग
नेकपा (एमाले)ले आफ्नालागि नभएर देश र जनताको लागि काम गरिरहेको बताउँदै देशमा अब परिवर्तन आवश्यक भएकाले पार्टीले मिसन– २०८४ लाई ध्यानमा राखेर काम अगाडि बढाइरहेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा अभियान मिसन २०८४ कै एउटा अङ्ग हो ।
राष्ट्रिय शक्तिका रूपमा रहेको एमाले अझ सुदृढ बन्नुपर्ने र २०८४ को संसदीय निर्वाचनबाट एकल बहुमतको सरकार बनाउनुपर्ने आवश्यकता रहेको धारणा अध्यक्ष ओलीले राख्नुभयो । उहाँले एमालेलाई सरकारबाट हटाएपछि देशमा अराजनीतिक गतिविधि भइरहेको बताउनुभयो ।
धनकुटामा कृषि विज्ञ र विद्यार्थीसँग छलफल
यसैबीच अध्यक्ष ओली नेतृत्वको यात्रा टोलीलाई आज धनकुटा जिल्ला प्रवेश गर्दा भव्य स्वागत गरिएको छ । बिहान भोजपुरबाट भएको १५औँ दिनको यात्रा अरुण नदी किनार लेगुवाघाट पुग्दा धनकुटाका नेताकार्यकर्ता तथा धनकुटाबासीबाट भव्य स्वागत गरिएको हो ।
धनकुटामा अध्यक्ष ओलीले पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कृषि विज्ञ र विद्यार्थीहरूसँग छलफल गर्नुभयो । अध्यक्ष ओलीले कृषिका विभिन्न आयामका बारेका छलफल गर्नुभएको हो । अध्यक्ष ओलीले धनकुटामा हिले पार्कको उद्घाटन गर्नुभयो ।
यस अघि विहान भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा पहाडको विकास र समृद्धि खोज्ने यात्रा भएको बताउनुभयो ।
उहाँले कुनै एक ठाउँको मात्र विकास गरेर देश विकास नहुने प्रष्ट पार्नुहुँदै देश विकासका लागि समग्र भूगोल र क्षेत्रको विकास हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको खाका एमालेसँग मात्र भएको भन्नुहुँदै त्यसको कार्यान्वयनका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हामीले समृद्ध नेपाल सुखी नेपाली बनाउन मिसन–२०८४ भनेका हौँ ।
देश जोगाउन राष्ट्रिय शक्ति निर्माण आवश्यक
उहाँले देश अहिले गम्भीर सङ्कटमा रहेको बताउँदै देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताउनुभयो ।
वर्तमान गठबन्धन सरकार अनियमितता, भ्रष्टाचार र नातावादमा चुर्लुम्म डुबेको अध्यक्ष ओलीको भनाइ छ । गठबन्धन कुहिसकेकाले कुनै बेला झर्न सक्ने उहाँले बताउनुभयो ।
नेपाली जनता निराश हुनु आवश्यक छैन
अध्यक्ष ओलीले नेपाली जनतालाई निराश नहुन पनि आग्रह गर्नुभयो । देशमा एमाले रहेकाले जनता निराश हुन नहुने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको छ । एमालेले सरकारको नेतृत्व गरेपछि विकासका काम अगाडि बढाउने विश्वास दिलाउँछ ।
कार्यक्रममा भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकामा भएका विकासका कामको यात्रा अभियान टोलीलाई जानकारी गराउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष राईले झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्पयात्रा चीनमा माओले सञ्चालन गरेको लङमार्च जस्तै भएको भन्दै यो लङमार्चले विकास र समृद्धिको लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको यात्रा अभियान टोली आज तेह्रथुमको वसन्तपुरमा बास बसेको छ ।