detail-img

देशको समृद्धिका लागि एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुने बताउनुभएको  छ । 
झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको १७औँ दिन आज (२०८० मङसिर ३० गते) पाँचथरको फिदिममा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा (एमाले) सफल भएको बताउनुभयो ।


नेकपा (एमाले)लाई सिद्धाउने प्रयास गरिए पनि त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्दै विकास र समृद्धिको यात्रा अगाडि बढाउन त्यतिले मात्र नपुगेकाले एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन आवश्यक रहेको बताउनुभयो । 
नेकपा (एमाले)को एकमात्र उद्देश्य र गन्तव्य देशको हित भएको बताउँदै उहाँले एमालेलाई प्रमुख र बलियो राष्ट्रिय शक्ति बनाउन आग्रह गर्नुभयो । 
देशमा राजनीतिक अस्थिरता, अन्योल र अराजकता बढ्दै गएको, आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारको अयोग्यताका कारण देश सङ्कटमा परेको बताउनुभयो । 
अध्यक्ष ओलीले आजै फिदिम नगरपालिका–१ मा निर्माण गरिएको पुष्पलाल–मदन भण्डारी स्मृति परिषद् बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गर्नुभयो ।
तेह्रथुमबाट शनिबार बिहान हिँडेको अध्यक्ष ओली नेतृत्वको टोली मध्यान्ह पाँचथर पुगेको हो । 
पाँचथरमा विभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । फिदिममा आयोजित बृहत आमसभामा गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरलगायत एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।