मकवानपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढिरहेको पार्टी भएको बताउनुभएको छ ।
नेकपा (एमाले), मकवानपुर जिल्ला कमिटीको ११औँ बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई बुधबार(२०८० पुस ११ गते) हेटौंडामा सम्बोधन गर्दै महासचिव पोखरेलले समाजवाद प्राप्त गर्न आर्थिक र सामाजिक क्षेत्रको विकास गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने गरी पार्टीको कामलाई समुदाय स्तरमा लैजान निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले पार्टीको संगठन र कार्यकर्ता जनतासँग जोडिएर उहाँहरूको जीवनमा परिवर्तन ल्याउन सक्रियता देखाउनुपर्ने समेत बताउनुभयो । उहाँले एमाले सरकारमा हुँदा जनहितको पक्षमा महत्वपूर्ण काम सुरुवात गरे पनि अहिलेको सरकारले त्यसलाई कटौती गर्दै गइरहेको बताउनुभयो ।
सरकार सत्ता टिकाउन मात्र केन्द्रित रहँदा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन कुनै नयाँ कामलाई अघि सार्न नसकेको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले पार्टीले हालै सम्पन्न गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प’ यात्रा उद्देश्यमा सफल भएको, यात्रालाई जनस्तरबाट स्वागत भएको र पार्टीमा जनलहर देखिएको बताउनुभयो । तीनदिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बाग्मती प्रदेश कमिटी र जिल्ला कमिटीका गरी ४० जनाको सहभागिता रहेको छ ।
शुक्रबारसम्म जारी रहने प्रशिक्षक प्रशिक्षणमा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले माक्सवादी दृष्टिकोण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले भू–राजनीतिक र परराष्ट्र सम्बन्ध, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज गुरु बरालले ‘समृद्व नेपाल, सुखी नेपाली’, पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले समृद्व मकवानपुर सम्बन्धी अवधारणा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन २०८४ को कार्यभार, नेकपा (एमाले) बाग्मतीका अध्यक्ष कैलाश ढुंगेलले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध विषयमा प्रशिक्षण दिनुहुने नेकपा (एमाले) मकवानपुरले जनाएको छ ।