detail-img

एमालेकै प्रयासमा संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चितः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेकै प्रयासमा संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले ५९औं अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवस (मार्च– २१) का अवसरमा आज नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।   
उहाँले नेकपा (एमाले) कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभई सबै कुराबाट निरपेक्ष तर वर्ग सचेत, अन्याय, असमानता विरोधी तथा सामाजिक न्याय र समानताको पक्षधर पार्टी भएको स्पष्ट गर्नुभयो ।  
कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताउँदै अध्यक्ष ओलीले कोही पनि मानिस जात, धर्म, सम्पत्ति, कुलीनताको हिसाबले जन्मँदै श्रेष्ठ वा नीच नहुने स्पष्ट गर्नुभयो । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।  
नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै संगठित गरेर अघि बढाउँदा जातीय विभेद अन्त्य गर्न सकिन्छ भनेर  २०४५ सालमा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद विरुद्धको आन्दोलन चलाएको अध्यक्ष ओलीले बताउनुभयो ।


उहाँले हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको र वर्तमान सरकारमा पनि दलित समुदायको प्रतिनिधित्व हुने बताउनुभयो । 
अध्यक्ष ओलीले सबै कुरा एकैचोटी सम्बोधन गर्न नसकिने भए पनि नेकपा (एमाले)ले सबैलाई स्थान दिने बताउनुभयो । कोही पनि पछाडि पर्नु हुँदैन र पछाडि छाडिनु हुँदैन भन्ने मान्यता एमालेको रहेको अध्यक्ष ओलीले बताउनुभयो । अपमान र घृणा गर्ने कुराले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बन्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । विभेद गर्ने मान्छे जतिसुकै पढेलेखेको भए पनि त्यो असभ्य मान्छे नै भएको बताउँदै उहाँले भन्नुभयो– त्यो एक प्रकारको हिंसा हो, अपमान हो, छुवाछूत भनेको अपमान हो । 
वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा बोल्नुहुँदै अध्यक्ष ओलीले राजनीतिमा संयमता जरूरी रहेको र राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।  
सरकारबाट हट्नु पर्दा निहुँ खोजेर संसद् अवरुद्ध गर्ने विषय लोकतन्त्र नभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– निहुँ खोज्ने, च्याँठ्ठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति । 
उहाँले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको हुँदा देश र जनताको समृद्धिको माध्यम बनाउनुपर्ने बताउनुभयो । समाजको उन्नति, प्रगति, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र सबैको सुरक्षा र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।  
समाजका अध्यक्ष मनोहर विश्वकर्माको अध्यक्षताम भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पार्टीका पोलिटव्यूरो सदस्य जीतु गौतमले पनि बोल्नुभएको थियो । कार्यक्रममा दलित मुक्तिका लागि नेकपा (एमाले)ले गर्नुपर्ने सङ्कल्प विषयमा सुशील विकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विमला विकले टिप्पणी गर्नुभएको थियो ।