११ असोज (२०८२), तुलसीपुर (दाङ) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तुलसीपुरमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकन गर्नुभएको छ ।
आज दिउँसो तुलसीपुरका विभिन्न स्थानमा पुगेर उहाँले क्षतिग्रस्त संरचनाहरूको अवस्थाबारे जानकारी लिनुभयो ।
महासचिव पोखरेलले तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर इजलास, जिल्ला प्रशासन कार्यालयको आसपासका क्षेत्र, कोमल रिसोर्ट साथै नेपाली कांग्रेसका नेताहरू गेहेन्द्र गिरी र डिल्ली चौधरीका घरलगायतका संरचनाहरू अवलोकन गर्नुभयो ।
भदौ २३ र २४ गते तुलसीपुरमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिका कारण सरकारी सम्पत्तिसहित निजी घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा ठूलो क्षति पुगेको थियो । महासचिव पोखरेलले क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो– लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि जनाउने अधिकार सबैलाई छ तर त्यो शान्तिपूर्ण र जिम्मेवार ढङ्गले हुनुपर्छ । सार्वजनिक सम्पत्ति तोडफोड गरेर जनताको धन र अधिकारमाथि नै प्रहार गर्नु लोकतन्त्रको भावना विपरीत हो ।