detail-img

अहिले राष्ट्रिय सुरक्षासमेत खतरामा छः उपमहासचिव ज्ञवाली 

११ कात्तिक (२०८२), धरान (सुनसरी) । नेकपा (एमाले)का  उपमहासचिव प्रदीप ज्ञवालीले अहिले देशको आन्तरिक सुरक्षामात्र नभई राष्ट्रिय सुरक्षा समेत खतरामा रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्र, कोशीको आयोजनामा भएको विस्तारित  बैठकलाई सम्बोधन गर्दै  ज्ञवालीले अहिलेको परिस्थितिले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको बताउनुभयो । 
उहाँले भन्नुभयो– लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको छ । 
उपमहासचिव ज्ञवालीले जेएनजीको नाममा देशमा विध्वंश सिर्जना गरी सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । 
पछिल्लो घटनाक्रमले संविधान र लोकतन्त्र सङ्कटमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– संविधानले नचिनेका मानिस प्रधानमन्त्री भएका छन् । हैसियत नभएकाले कर्मचारीलाई थर्काइरहेका छन्, कर्मचारी डराइरहेका छन्, काम हुन सकेको छैन । आन्तरिक सुरक्षा मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ । यस अवस्थामा चुनाव हुँदैन ।
उपमहासचिव ज्ञवालीले अहिले संविधान मात्रै होइन, देशलाई सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै जेलेन्स्की जस्ता पात्रहरू सिर्जना गरेर देशलाई ध्वंस गर्ने प्रयत्न हुँदैछ भन्नुभयो । 
उहाँले भन्नुभयो– अहिलेको व्यवस्थामा कार्यकारीमाथि संसदले चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्छ तर हामीले पपुलिजमको भ्रममा परेर कार्यकारीको कुरा गरिरहेका छौं । त्यो हाम्रा लागि खतरा छ । अहिले हाम्रो मुलुकलाई आगो लगाउनका लागि यस्ता विभिन्न खालका कुराहरू गरिँदैछ । विभिन्न बहानामा सामाजिक सद्भावमा खलल पुर्याउने, आर्थिक संरचनाहरू ध्वस्त बनाउने परिस्थिति बनाइँदैछ । यसप्रति हामीले बेलैमा सचेत हुनुपर्छ ।
उपमहासचिव ज्ञवालीले दलहरूलाई कुनै दुविधामा नरही व्यवस्था जोगाउन संसद पुनस्र्थापनाको एजेन्डामा एक हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले संसद विघटन असंवैधानिक भएको बताउँदै  जेनजीको माग  संसद विघटन नभएको तर षड्यन्त्रकारीहरूले जेनजी आन्दोलन हाइज्याक गरेर मुलुकलाई भड्खालामा हालेको बताउनुभयो । 
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई एकढिक्का र बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । 
नयाँ ढङ्गको आन्दोलनमार्फत असंवैधानिक हर्कतहरू खारेज गर्न सबै कार्यकर्तालाई तयार रहन उहाँले निर्देशन दिनुभयो । उहाँले सङ्घर्षका माध्यमबाट मात्रै असंवैधानिक कदमलाई सच्याएर ठिक ठाउँमा ल्याउन सकिने भन्दै देशभरि एमालेले जनप्रदर्शन र विरोधका कार्यक्रम गर्ने बताउनुभयो ।
स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालको सार्वभौमसत्तालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले लोकतन्त्रवादी र गणतन्त्रवादी एकजुट भएर यसलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो । जेनजी विरोधको समयमा भएका घटनाका सत्य तथ्य बाहिर ल्याएर विध्वंश गर्नेलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । 
कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत, मानव अधिकार एलायन्सका अध्यक्ष विदुर सुवेदी र पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल लगायतले पनि बोल्नुभएको थियो । 
कोशी प्रदेशका जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम थापाले कोशी प्रदेशमा जनपरिचालन जनप्रदर्शन गर्नका लागि आह्वान गरिएको र बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिनुभयो ।