detail-img

घुँडा टेकेर सत्ता जोगाउने कूटनीति हुनुहुँदैनः अध्यक्ष 


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  चुच्चे नक्सा प्रकाशित गरेका कारण आफू सत्ताबाट हट्नुपरेको वताउनुभएको छ । 

नेपाल चीन हिमालय मैत्री समाजले काठमाडौंमा आज आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले सो कुरा वताउनुभएको हो । 

अघिल्लो पटक चीनसँग पारवहन सम्झौता, उत्तरतिरबाट बाटो खोलेका कारण र दोस्रो पटक लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपालको भू–भाग समेटिएको नक्शा प्रकाशित गरेका कारण सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।

आफ्नो मनमा मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियता र नेपाली जनताको उन्नति र प्रगति बाहेक अरू केही नभएको तर चुच्चे नक्शा प्रकाशित गरेकामा आफूविरुद्ध अपवित्र गठबन्धन भएको वताउँदै उहाँले अहिले राष्ट्रियताका निम्ति कोही लड्यो भने त्यसलाई हटाउनुपर्छ भनेर सौदावाजी गर्ने तहमा नेपालको राजनीति पुुगेको भनाई राख्नुभयो ।

‘साठीबर्ष भयो हाम्रो भू–भाग (कालापानी) मा भारतीय फौज छ, जता जस्ले हाम्रो भू–भाग नियन्त्रणमा लिएको छ, फिर्ता गर्नुपर्छ ।’ अध्यक्ष ओलीले भन्नुभयो– घुँडा टेकेर सत्ता जोगाउने कूटनीति हुनुहुँदैन, हामीले हाम्रोलाई हाम्रो भन्न सक्नुपर्छ ।

भूराजनीतिका कुरा गर्दा नेपालले दुबै छिमेकीसँग असल, विश्वसनीय, भरपर्दो र मित्रतापूर्ण सम्बन्ध कायम गर्नुपर्ने वताउँदै अध्यक्ष ओलीले छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध पारस्परिक सहयोग र सम्मानका साथ अगाडि बढ्ने हुनुपर्छ भन्नुभयो ।

दुई छिमेकीसँगको सम्बन्धका बारेमा अध्यक्ष ओलीले भन्नुभयो– छिमेकीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ, आजको विश्व मान्यता अनुसार औचित्यपूर्ण, न्यायपूर्ण आधारमा सम्बन्धलाई सुदृढ र विस्तार गर्दै उचाईंमा पुर्याउनुपर्छ । एकातिर ढल्कने गल्ती नगरौं, त्यसले हामीलाई अफ्ठारो पार्छ ।  

अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्मको अवधिमा नेपालको परराष्ट्र सम्बन्ध सबैभन्दा कमजोर बनेको विचार व्यक्त गर्दै त्यसपछि अहिले जस्तो  राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रताको अपमान र हुर्मत लिने काम कहिले भएको थिएन भन्नुभयो । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको उहाँको भनाई थियो ।

२००८ सालमा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको सरकार बनेको र प्रधानमन्त्री कोइराला भारत भ्रमणमा गई नेपालको उत्तरी सिमानामा १७ ठाउँ भारतीय प्रहरी चेकपोष्ट राख्ने सम्झौता गरेर आएको तथ्य प्रस्तुत गर्दै अध्यक्ष ओलीले तिनै १७ वटा चेकपोष्ट हटाएबापत कीर्तिनिधि विष्टले २०२६ सालमा प्रधानमन्त्री पद छाड्नपरेको वताउनुभयो ।

नेपालको परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रियतालाई सर्वाेपरि राखेर असंलग्न परराष्ट्र नीतिमा एक हुन नेपाली काँग्रेस लगायत सबै दललाई उहाँले आग्रह पनि गर्नुभयो । 

बामपन्थी एकताका लागि आह्वान
अध्यक्ष ओलीले नेपालका सबै बामपन्थी दलहरूलाई एकताका लागि आह्वान गर्नुभयो । अध्यक्ष ओलीले काँग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, एसपीपी सम्झौता नगर्न र एकतामा आउन पटक पटक आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो– कम्युनिष्ट सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेश जारी गरी प्रधानमन्त्री बनाई पाउँ भनी अदालत गएर हिजो गल्ती भइहाल्यो, छोड्दिनुस् । ‘राफसाफ कुरा गरौं, कोही बामपन्थी हुनुहुन्छ भने आउनुस्, काँग्रेस विरोधी होइन, देश र राष्ट्रियताका पक्षमा काम गर्ने सरकार बनाऊँ ।’ 

अध्यक्ष ओलीले भन्नुभयो— देशभरि सुनिने गरी फेरि एकपटक भन्न चाहन्छु, बर्को छोडौं, असली रूपमा आऊँं,  कोही  बामपन्थी हुनुहुन्छ भने एकताका लागि आउनुस् । 

अध्यक्ष ओली बोल्नु अघि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको एकता जोगाउन नसकेकोमा  आफ्नो पनि कमजोरी भएको स्वीकार्दै  वामपन्थीहरूबीच चुनावी तालमेलका लागि आग्रह गर्नुभएको थियो ।