detail-img

भदौ २३ र २४ को घटना राष्ट्र कमजोर बनाउने षडयन्त्रमूलक घटनाः महासचिव पोखरेल

–जेनजीले उठाएका मागमा नेपालका  राजनीतिक दल र नेपाली समाजको विमति छैन
–भदौ २३ र २४ को घटना राजनीतिक आवरणमा गरिएको राष्ट्र द्रोह हो
–अहिलेको सरकारले सुरक्षा दिन सक्दैन, अब नागरिकले आफ्नो सुरक्षाका लागि टोल टोलमा सुरक्षा समिति बनाउनुपर्छ 

१३ कात्तिक ( २०८२), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेले जेनजीका नाममा भएको प्रदर्शनलाई राष्ट्र र लोकतन्त्र विरोधी शक्तिले भड्काउने काम गरेको बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल दाङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जेनजीले उठाएका मागमा नेपालका सबै राजनीतिक दल र नेपाली समाजको विमति नरहेको बताउनुभयो । तर भदौ २३ को आन्दोलनलाई उत्तेजित गराउने काम स्वार्थी तत्वहरूले गरेको उहाँले बताउनुुभयो । 
भदौ २४ गते पनि जेनजीहरूले शोक सभा गर्ने भनेकामा सो दिन राष्ट्र विरोधी तत्वको घुसपैठबाट नेपालको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार जलाउने र नेपालको न्याय प्रणालीलाई नै समाप्त गर्ने काम भएको महासचिव पोखरेलले बताउनुभयो । 
जेनजीका नामका नव युवाहरूबाट यो काम हुनै नसक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो–उनीहरूको माग राष्ट्रलाई कमजोर बनाउने थिएन । 
आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको भन्दै प्रहरी र न्यायपालिकामाथिको आक्रमण नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम स्वरूप भएको धारणा महासचिव पोखरेलले राख्नुभयो । 
‘यो नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने कामको परिणाम हो भनेर स्वतः बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।  
वडा कार्यालयदेखि प्रदेशका संरचनासम्म लुटपाट, तोडफोड, आगजनीका घटना सङ्घीयतालाई समाप्त गर्ने योजना अनुसार भएको महासचिव पोखरेलको विश्लेषण छ । 
जनताको आवाजको प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयमा समेत आगलागी हुनुले व्यवस्था नै समाप्त पार्ने योजना भएको उहाँले बताउनुुभयो । ‘राजनीतिक दल माथिको प्रहार भनेको लोकतन्त्रमाथिको प्रहार भनेर बुझ्नु पर्दछ, यो सामान्य कुरा होइन, यस्ता प्रकृतिका आक्रमणलाई सामान्य आक्रोश भन्न सकिँदैन’, महासचिव पोखरेलले भन्नुभयो । 
कर, मालपोत, नापी कार्यालयको आन्दोलन दबाउन कुनै भूमिका नहुने बताउँदै उहाँले ती कार्यालयमाथिको आक्रमण भनेको राष्ट्रको सामथ्र्य माथिको आक्रमण भएको उहाँको भनाइ छ । समग्रमा भदौ २३ र २४ को घटना राष्ट्र कमजोर बनाउने षडयन्त्रमूलक घटना भएको महासचिव पोखरेलले बताउनुभयो । 
वर्तमान सरकार एनजिओ र आइएनजिओको सरकार भएको उहाँले दाबी गर्नुभयो । सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको महासचिव पोखरेलले बताउनुभयो । 
सरकार गठन प्रक्रियामा जुन प्रवृत्ति देखिएको छ त्यसले संविधान र कानुनलाई खण्डित गर्ने काम गरेको उहाँले बताउनुभयो । राजनीतिको जिम्मा राजनीतिक दललाई दिनुपर्ने बताउँदै उहाँले त्यो कुनै पनि एनजिओ, आइएनजिओले गर्न नसक्ने र नहुने उहाँको धारणा छ । कहिलेकाहीँ नागरिक सरकार बन्न सक्ने भए पनि त्यो राजनीतिक दलको समर्थनमा बन्ने महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।  
‘नेपालको प्रहरी १०÷२० हजारको भिडलाई व्यवस्थापन गर्न नसक्ने प्रहरी होइन, हजारौँको भिड व्यवस्थापन गर्न क्षमता राख्ने प्रहरी हो’ उहाँले भन्नुभयो । भदौ २३ गतेको घटनालाई हेर्दा नेपाल प्रहरीको विगतको अभ्याससँग कतै मेल नखाने र    त्यसमा गम्भीर षडयन्त्र भएको दाबी गर्दै महासचिव पोखरेलले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । 
अहिले बनेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले उहाँबाट निष्पक्ष छानबिन नहुने उहाँले बताउनुभयो । त्यसैले अध्यक्ष कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने बताउँदै महासचिव पोखरेलले सो घटनाको अनुसन्धान तटस्थ व्यक्तिबाट गराउनुुपर्ने धारणा राख्नुभयो । 
प्रतिनिधि सभा विघटन संविधानसम्मत छैन भन्ने कुरा विगतको सर्वोच्च अदालतको फैसलाले स्थापित गरिसकेको उहाँले बताउनुभयो । सर्वोच्च अदालतका फैसला कानुनसरह नै हुने भएकाले प्रतिनिधि सभा विघटन संविधान विपरीत भएको दावी महासचिव पोखरेलले गर्नुभयो । 
नेकपा (एमाले) चुनावबाट भाग्ने पार्टी होइन भन्दै उहाँले अहिले चुनावको वातावरण नबनेको बताउनुभयो । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको बताउँदै महासचिव पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने र यस्तो अवस्थामा चुनाव हुन नसक्ने धारणा राख्नुभयो । 
अहिलेको सरकारले नागरिकको सुरक्षा दिन नसक्ने बताउँदै उहाँले अब नागरिकले आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने स्थिति आएको र टोल टोलमा सुरक्षा समिति बनाउनुपर्नेमा जोड दिनुभयो । 
गत भदौ २४ गतेको घटनामा सुरक्षा निकायले सरकारलाई सहयोग नगरेको उहाँले बताउनुभयो । क्षति कम गर्नको लागि एक्सनमा ननिक्लिएको स्पष्टीकरण नेपाली सेनाले दिएको भए पनि मानवीय क्षतिको हिसाबले भदौ २३ मा भन्दा २४ गते बढी क्षति भएको उहाँले सुनाउनुभयो । त्यसैले सो तर्कलाई मान्न सकिने अवस्था नरहेको धारणा महासचिव पोखरेलले राख्नुभयो । 
भदौ २३ र २४ को घटनालाई युवाको चाहना र त्यहाँभित्र घुसेर गरिएको अपराधलाई छुट्याएर हेर्नुपर्ने उहाँको धारणा छ । सो घटना कुनै राजनीतिक आन्दोलन वा विद्रोह नभई राजनीतिको आवरणमा गरिएको अपराध भएको महासचिव पोखरेलले बताउनुभयो । ‘यो राजनीतिक आवरणमा गरिएको राष्ट्र द्रोह हो, राजनीतिको आवरणमा गरिएको अपराध हो’, उहाँले भन्नुभयो । 
अहिले विभिन्न आवरणमा जेनजी देखाइएको बताउँदै उहाँले नव युवाको अनुहार देखाएर अपराधकर्म नगर्न चेतावनी दिनुभयो । जेनजीका नाममा एकथरि मानिसहरूलाई जे जे गरे पछि छुट दिइएको र सरकारका गतिविधिका विरुद्ध प्रदर्शन गर्न चाहने युवालाई भने गिरफ्तार गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यो घृणाको राजनीति नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।