 
                            १३ कात्तिक (२०८२), बुटवल । नेकपा (एमाले) का केन्द्रीय सदस्य कमल गौतमको ६५ बर्षको उमेरमा हृदयाघात भई असामयिक निधन भएको छ । 
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका श्रमिक नेता गौतम ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत लाइन काटिएको विरोधमा आज भैरहवास्थित विद्युत प्राधिकरणको कार्यालय अगाडि उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा भाषण गर्दागर्दै बेहोस भएर ढल्नुभएको थियो ।
उहाँलाई उपचारका लागि तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विरोध कार्यक्रममा उद्योगहरूमा विद्युत कटौती भई बन्द हुँदा २५ हजार श्रमिकहरूको रोजगारी गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो । 
विसं. २०१९ सालमा पाल्पामा जन्मनुभएका गौतम विगत तीनदशकभन्दा बढी समय पेशागत तथा राजनीतिक आन्दोलनमा निरन्तर सक्रिय हुनहुन्थ्यो । हाल बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतमका श्रीमती र दुई छोरा हुनुहुन्छ ।