detail-img

पुष्पलालले आफ्ना जीवन्त विचारलाई सार्थक बनाउनुभयोः महासचिव पोखरेल 

७ साउन, (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘संसद पुनर्स्थापना’ र ‘संयुक्त जनआन्दोलन’, नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएका दुई विचार सही सावित भएको बताउनुभएको छ । 
पुष्पलालको ४६औं स्मृति दिवसको सन्दर्भ पारेर नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको ‘संगठन निर्माण र परिचालन’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो । 
‘२०१५ सालको आम निर्वाचनबाट बनेको संसद विघटन गरी राजा महेन्द्रले २०१७ निम्त्याउँदा पुष्पलालले संसद पुनर्स्थापनाको माग गर्नुपर्ने धारणा अगाडि सार्नुभएको थियो भने निरङ्कुश पञ्चायती व्यवस्था ढाल्नका लागि नेपाली कांग्रेससँग संयुुक्त आन्दोलन गर्नुपर्ने विचार पनि उहाँले नै अगाडि सार्नुभएको थियो’, चर्चा गर्दै महासचिव पोखरेलले २०४६ सालको संयुक्त जनआन्दोलनको सफलता र २०६२/०६३ को जनआन्दोलनपछि संसद पुनर्स्थापनाका दुई घटनाबाट पुष्पलालका ती दुबै विचार सही थिए भन्ने पुष्टी भएको बताउनुभयो । 
तत्कालीन समयमा पुष्पलालको विचार अल्पमतमा परे पनि उहाँका विचार सही भएकाले सफल पनि हुन आएको बताउँदै महासचिव पोखरेलले जहाँ पुष्पलाल उभिनुहुन्छ त्यहाँ नेपाली राजनीतिक आन्दोलनको दिशा निर्धारण हुन्छ भन्ने मान्यता स्थापित भएको विचार व्यक्त गर्नुभयो । 
पञ्चायतविरूद्ध कांग्रेससँग मिलेर आन्दोलन गर्नुपर्छ भन्दा पुष्पलाललाई गद्दार घोषणा गर्नेहरू अत्यन्त सामान्य पारिवारिक स्वार्थका लागि कांग्रेससँग गठजोड गरेको दृष्टान्त प्रस्तुत गर्दै यो पतनको पराकाष्टा भएको उहाँको भनाइ छ । 
पुष्पलाल आधारभूत रूपमा सही ठाउँमा हुँदा पनि उहाँका विचारलाई इतिहासले सही मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट आन्दोलनले क्षति व्यहोर्नुपरेको विचार महासचिव पोखरेलले राख्नुभयो ।
उहाँले भन्नुभयो– पुष्पलालले आफ्ना विचारहरू पटक पटक पराजित हुँदा पनि हरेश खानुभएन । आफ्ना जीवन्त विचारलाई सार्थक बनाउनुभयो । तत्कालीन समयमा विरोध गर्नेहरूले अहिले पुष्पलालको विचार स्वीकार गरेका छन् । 
नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने, सङ्गठन बनाउने र आन्दोलन गर्ने तीनै कामको नेता हुँदा हुँदै पनि पुष्पलाललाई कम्युनिष्ट पार्टीको अधिवेशन हुन नदिई विदा गरिएबाट कम्युनिष्ट आन्दोलनमा विचलन शुरू भएको विचार महासचिव पोखरेलले व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो– पुष्पलाल सिद्धान्त र रणनीतिक प्रश्नमा स्पष्ट नेता हुनुहुन्थ्यो, नेतृत्व र आन्दोलनमा सफलताका लागि पुष्पलालले सिद्धान्त, सङ्गठन र सङ्घर्ष ‘तीन–स’को सूत्रलाई ध्यान दिँदै एकसाथ अगाडि बढाउनुपर्छ भन्नुहुन्थ्यो ।  
महासचिव पोखरेलले एमालेको पार्टी जीवनमा सातौं महाधिवेशन विचारका पक्षमा अव्यवस्थित र असफल महाधिवेशन भएकाले त्यस महाधिवेशनबाट पारित दस्तावेजले देशलाई अगाडि बढाउने काम नगरेको बताउनुभयो । 
सातौं महाधिवेशनमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नु भएको विचार पराजित भए पनि सोही विचार आठौं महाधिवेशनमा आएर सर्वसम्मत दस्तावेज बन्न पुगेको बताउँदै यि अनुभवबाट इतिहासमा कहिले काहीँ विचार पराजित हुँदा पनि हतोत्साहित हुन नहुने शिक्षा लिनुपर्ने धारणा उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले इतिहासबाट शिक्षा लिंदै भविष्यका लागि सोच्ने दृष्टिकोणबाट अगाडि बढ्दा आन्दोलन सफल हुने बताउनुभयो । पार्टीलाई सफल बनाउन जनताका मुद्दा पहिचान गरी तिनै मुद्दामा केन्द्रित भएर पार्टी परिचालित हुनुपर्ने उहाँको भनाइ छ । 
उहाँले आजको सन्दर्भमा जनतासँग जोडिने कुरा सङ्घर्षको स्वरुप भएको बताउनुभयो । 
काठमाडौंको नयाँसडक करिव सयबर्ष पुरानो सम्पदा भएको हुँदा यसको रक्षा गर्नु महानगरपालिकाको कर्तव्य हो भन्नुहुँदै महासचिव पोखरेलले स्थानीय जनतासँग जोडिएको यो विषय पार्टीपङ्तीको सरोकारको विषय बन्नुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाको वडा नं. २२ का वडाध्यक्ष स्थानीय जनताका मुद्दासँग जोडिएकाले अहिले अल्पमतमा परे पनि उनको अडान सही भएकाले स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । 
पार्टी जीवनमा लोकतन्त्रको अभ्यासले सही परिणाम दियो दिएन भनेर वहस शुरु भएको र सबैले जित्ने लोकतन्त्र कस्तो हुनसक्छ छलफल भइरहेको उहाँले जानकारी गराउनुभयो । 
पार्टी जीवनमा सफलता प्राप्त गर्न विधि, पद्धति र अनुशासनलाई ध्यान दिनुपर्ने र वैचारिक तथा राजनीतिक रूपमा आफूलाई अद्यावधिक गर्नैपर्ने महासचिव पोखरेलको भनाइ छ । उहाँले वैचारिक तथा राजनीतिक विषयमा निरन्तर अध्ययन, छलफल र विमर्श गर्न कार्यकर्तालाई सुझाउनुभयो । 
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले नेकपा (एमाले) नेकपाका संस्थापक महासचिव पुष्पलालको सच्चा उत्तराधिकारी भएको बताउनुभयो । उहाँले पार्टीलाई सबल राष्ट्रिय शक्तिका रूपमा विकास गरी मिसन–२०८४ सफल बनाउने जिम्मेवारी नेताकार्यकर्ताको काँधमा रहेको बताउनुभयो ।