detail-img

‘क. पुष्पलालको विचार र सिद्धान्तबाट  कम्युनिष्ट आन्दोलन आजको अवस्थामा’ 


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालले नेपाली समाज रूपान्तरणका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको वताउनुभएको छ । 
क.पुष्पलालको ४४औं स्मृति दिवसका अवसरमा कामनपा–१८ ताम्सीपाखामा रहेको पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा वताउनुभएको हो । 
क.पुष्पलालको विचार र सिद्धान्तबाट कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको वताउँदै अध्यक्ष ओलीले क.पुष्पलालले देखाएको बाटोबाट दायाँ–बायाँ नगरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गरिछाड्ने सङ्कल्प गर्नुभएको छ । 
क.पुष्पलालले प्रतिकूल समयमा बनाउनुभएको सानो संगठन विभिन्न उतारचढाव झेल्दै आज देशको सबैभन्दा सबल र सचेत शक्तिका रूपमा एमाले उभिएको उहाँले वताउनुभयो । 
आफ्ना दाजु शहीद गंगालाललाई राणा शासकहरूले तथाकथित फैसला सुनाएर जघन्य हत्या गरेको देख्नुभएका क.पुष्पलालले कलिलो उमेरदेखि नै नेपाली जनताको पक्षमा, लोकतन्त्र, सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हित सम्बद्र्धनका लागि कठोर सङ्घर्ष गर्नुभएको थियो । 
रामेछापको भँगेरीमा १९८१ सालमा जन्मनुभएका क.पुष्पलालको २०३५ सालमा भारतको नयाँदिल्लीमा निधन भएको थियो । त्यसबेला उहाँको मृत शरीर नेपाल ल्याउन पञ्चायती शासकहरूले नदिएपछि यमुना नदीको किनारमा अन्तिम संस्कार गरिएको थियो । 
जनताका नायक, महान विचारक क.पुष्पलालको शरीर नेपाल ल्याउन नदिए पनि त्यसबेलाका शासकहरूले पञ्चायत र राजतन्त्र टिकाउन नसकेको अध्यक्ष ओलीले चर्चा गर्नुभयो । 
आफ्ना दाजु गंगालाल र अन्य शहीदहरुको उद्देश्यलाई क. पुष्पलालले कहिल्यै मर्न नदिएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– नवीन विचारक क.पुष्पलालले १९९७ सालको आन्दोलन छिन्नभिन्न भएपछि आतङ्कको सन्नाटामा पनि १९९८ सालमा नेपाल प्रजातन्त्र संघ नामको संस्था खोलेर कम्युनिष्ट पार्टीको पहिलो विजारोपण गर्नुभएको थियो । 
२००६ सालमा भारतको कलकत्तास्थित श्यामबजारमा आफूसहित चारजना भेला भएर कम्युनिष्ट पार्टीको घोषणा गर्नुभएका क.पुष्पलाललाई आफ्नै साथीहरूले नेतृत्वबाट हटाएर पार्टी कब्जा गर्ने षडयन्त्रमा लागेको चर्चा गर्दै अध्यक्ष कमरेडले भन्नुभयो– २०१० सालमा भएको पार्टीको पहिलो महाधिवेशनबाट क.पुष्पलाललाई षडयन्त्रपूर्ण ढङ्गले महासचिवबाट हटाइयो, उहाँलाई वैचारिक र सांगठानिक रूपमा पनि हटाउनु हुँदैनथ्यो । खास नेतालाई खास ठाउँमा आउन नदिएपछि कम्युनिष्ट पार्टी फुटतर्फ लाग्यो ।
नेपालको कम्युनिष्ट आन्दोलनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएपछि २००८ सालदेखि ०१२ सालसम्मको अवधि कम्युनिष्टहरूका लागि राणा शासनभन्दा भिन्न नरहेको वताउनुभयो ।
विसं.१९९७ साल मंसीर १३ गते १७ बर्ष उमेरका युवा गंगालालले इन्द्रचोकमा गरेको भाषण नै पहिलो सार्वजनिक राजनीतिक भाषण भएको र उक्त भाषणमा अत्याचारी राणाशासन अन्त्यको उद्घोष गर्नुभएको चर्चा गर्दै त्यस दिनलाई स्मरण गर्नुपर्ने, सम्मान गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । 
अध्यक्ष ओलीले शुक्रराज शास्त्रीलाई गीता प्रवचनसँगै जनतामा जागरण ल्याउने काम गरेको आरोपमा मृत्युदण्ड दिइएको, सिद्धिचरण श्रेष्ठलाई कवितामा क्रान्ति शब्द प्रयोग गरेको अभियोगमा १८ बर्ष जेल सजाय दिइएको जस्ता घटनाका कारण आफूले १४ बर्ष जेल बस्नुपरे पनि सजिलै जस्तो लाग्ने गरेको सुनाउनुभयो । 
अध्यक्ष ओलीले नेपाली काँग्रेसको इतिहास, राष्ट्रियताका मामिलामा गणेशमान सिंहको योगदान, सत्ता स्वार्थका लागि नेपाली काँग्रेसले आफ्नै पार्टीका तर्फबाट शहादत प्राप्त गर्नेहरूप्रति गरेको व्यवहारका बारेमा पनि चर्चा गर्नुभयो । 
अध्यक्ष ओलीले पुष्पलाल स्मृति पार्कमा रहेको क.पुष्पलालको शालिकमा माल्यार्पण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले सबै शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।
जसपाका केन्द्रीय सदस्यलाई स्वागत 
सो अवसरमा नेकपा (एमाले) मा प्रवेश गर्नुभएका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनरत्न शाक्य लगायत डेढ दर्जन कार्यकर्तालाई अध्यक्ष ओलीले पुष्पगुच्छाले स्वागत गर्नुभयो ।  
सो अवसरमा अध्यक्ष ओलीले देश र जनताका पक्षमा काम गर्न यही पार्टीको नीति ठीक छ भनी पार्टीमा प्रवेश, आफ्नै घरमा फर्कनुभएकाहरूलाई स्नेह, आत्मीय व्यवहार र हैसला प्राप्त हुने विश्वास दिलाउनुभयो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णुप्रसाद पौडेल, उपमहासचिव बिष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय भानुभुक्त ढकाल र  कृष्णगोपाल श्रेष्ठ लगायतका केन्द्रीय कमिटीका सदस्यहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।