१८ मङ्सिर (२०८१), काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) उम्मेदवार उमा शेर्पा निर्वाचित हुनुभएको छ । उहाँ दुई हजार ८०५ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी हुनुभएको हो ।
उपाध्यक्ष पदका अन्य प्रतिस्पर्धीमध्ये माओवादी केन्द्रकी निमलेकी शेर्पाले दुई हजार छ सय मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले एकहजार ७२७ मत ल्याउनुभयो ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधन भएपछि उपचुनाव भएको हो ।
उपाध्यक्ष पदमा निर्वाचित एमाले उम्मेदवार शेर्पाले आफ्नो जित व्यक्तिगत नभएर सिङ्गो गौरीशंकरवासी र विकासप्रेमीको जित भएको बताउनुभयो ।
उहाँले गौरीशंकरवासीको हितका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सडक लगायतका अधुरा रहेका विभिन्न विकास निर्माणका कार्यहरूमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस कार्यमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।