detail-img

गणतन्त्र रक्षाका निम्ति सबैको सक्रिय पहलकदमी आवश्यकः स्थायी कमिटी सदस्य पण्डित

२३ चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डितले लोकतान्त्रिक गणतन्त्र कुनै एक व्यक्तिको मात्र नभई सबैका निम्ति भएकाले यसको रक्षाका लागि सक्रियतापूर्वक पहलकदमी लिनु आवश्यक रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) महोत्तरी–काठमाडौं सम्पर्क मञ्चद्वारा नयाँबर्ष २०८२ को पूर्वसन्ध्यामा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा ‘स्वजागरण–जीवन विज्ञान’ प्रवचन कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य पण्डितले देशमा केही ठीक छैन, ठीक भएन भन्नेहरूले स्वयं आफूलाई हेर्नुपर्ने र आफूमा परिवर्तन ल्याउनपर्ने बताउनुभयो । 
उहाँले देश, समाज र पार्टी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताउँदै पार्टी २०८४ को निर्वाचनलाई एकल बहुमतको सरकार बनाउने मिसनका साथ अगाडि बढिरहेकाले पार्टीका सबै कार्यकर्ताहरू सोही मिसन पूरा गर्ने गरी सक्रिय हुनुपर्ने आवश्यकता औल्याउनुभयो । 
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका इन्चार्जसमेत रहनुभएका नेता पण्डितले नेताको आशिर्वादमा बाँच्न खोज्नेहरूको भविष्य नरहेको भन्दै सबै कार्यकर्तालाई कर्ममा, सङ्गठनमा विश्वास गर्न आग्रह गर्नुभयो । 
नेकपा (एमाले) नेतृत्वको सरकारका पालामा भएका विकासका कामको चर्चा गर्दै उहाँले सोसल मिडियामा आउने नकारात्मक सन्देशबाट प्रभावित नभई सकारात्मक सन्देश दिने काममा लाग्न पनि कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 
सुनकोशी–मरिन डाइभर्सन निर्माणबाट मधेशको हजारौं विगाहा खेत सिंचाइ हुने अवस्था बनेको र फास्ट ट्याक (द्रूतमार्ग) निर्माण सम्पन्न हुँदा राजधानी र मधेशको निकटता एकघण्टामा ल्याउने लगायतका कामको चर्चा गर्दै नेता पण्डितले अब मधेशको अवस्था पहिलेजस्तो नरहेको र नरहने बताउनुभयोे । 
स्थायी कमिटी सदस्य पण्डितले नयाँबर्षमा सबैमा सक्रियता, पहलकदमी र विचार विश्लेषण गर्ने उत्साह जागोस्, समाजमा रहेको निराशा चिर्न सकियोस् भनी शुभकामना पनि दिनुभयो । 
नेकपा (एमाले) महोत्तरी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शशीकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सम्पर्क कमिटीका इन्चार्ज नरेन्द्र श्रेष्ठ, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, सहसंयोजक थानेश्वर बस्याल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा मञ्चद्वारा प्रकाशित नयाँबर्ष २०८२ को क्यालेण्डर विमोचन गरिएको थियो भने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।