२४ चैत ( २०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजतन्त्रवादीहरू जतिसुकै सगबगाए पनि गणतान्त्रिक व्यवस्थालाई हल्लाउन नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आइतबार काठमाडौंमा आयोजित रामनवमी तथा चैते दशैँ २०८१ को शुभकामनासहित पार्टीको जराकेन्द्रित अभियान अन्तर्गत पार्टीको सङ्गठन निर्माण तथा विस्तार विषयक प्रदेश सम्पर्क कमिटी, जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च र पालिका नेतृत्वको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उक्त धारणा राख्नुभएको हो ।
कहिलेकाहीँ नकारात्मक कुराले पनि सकारात्मक परिणाम दिने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– पूर्वराजा र उनका मतियारको व्यवहारले पुनः एकपटक गणतन्त्रवादीलाई एकठाउँमा आउने वातावरण बनाएको छ ।
नेकपा (एमाले)ले चैत ११ गतेदेखिसङ्घीय लोकतान्त्रिण गणतन्त्रको पक्षमा देशव्यापी जनसचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र यसै सन्दर्भमा काठमाडौंमा गरेको विशाल मोटरसाइकल र्यालीबाट राजावादीहरू हच्किइसकेको उहाँको भनाइ छ ।
गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरूले समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरिरहेका र अहिले कथित राजावादीहरूले देखाउने उदण्डता चैत १५ गतेको सभाबाट पटाक्षेप भएको बताउनुभयो ।
सारा जनता जुरमुराएर आउने छन् र अन्तर्राष्ट्रिय विमानस्थल तथा संसद् भवन कब्जा गर्न सकिन्छ भनेर राजवादीले चैत १५ को आन्दोलन गरेका महासचिव पोखरेलले बताउनुभयो । सोचे जस्तो मानिस नआएपछि राजावादीहरूले हिंसा र उदण्डता देखाएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– राजतन्त्रको अमानवीयताको अनुहार देख्न नपाएको नयाँ पुस्ताले तीनकुनेको घटनाबाट राजतन्त्रको उदण्डताको दृश्य देख्ने मौका पायो ।
कतिपय मानिसहरूले लोकतन्त्रमा गएपछि मुलुक कमजोर भयो भनि गरेको टिप्पणी मनोगत भएको उहाँको धारणा छ । तथ्यलाई हेरेर विश्लेषण गर्ने हो भने राजसंस्थाको बेलामा र त्यस पछिको अवस्था छर्लङ्ग हुने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
हल्लाको पछाडि होइन, तथ्यमा टेकेर कुरा गर्नुपर्ने भन्दै उहाँले राजाको पालामा भएको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास लगायतको तुलनासहितको उदाहरण सुनाउनुभयो ।
पार्टीको सुदृढीकरण र पार्टी कार्यकर्ताको भूमिका र सक्रियताका बारेमा चर्चा गर्दै महासचिव पोखरेलले अधिवेशनको बेलामा तँछाडमछाड गर्ने तर अधिवेशन सकिएपछि बैठकमा नै उपस्थिति नहुने प्रवृत्ति पार्टीमा मौलाएको बताउनुभएको छ ।
पार्टी र नेताहरू खोजेको बेला भेटिनुपर्ने बताउँदै भौतिक रूपमा उपस्थित भएर गरिने कामले आत्मीयता बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
जनतासँग जोडिने कुरालाई महत्व दिनुपर्ने र यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको योजनामा योगदान गर्ने महासचिव पोखरेलले बताउनुभयो ।
आजको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग पनि त्यतिकै आवश्यक रहेको उहाँले बताउनुभयो । आफूले गरेको कामलाई सामाजिक सञ्जाल मार्फत प्रस्तुत गर्न आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– हिजोआज वैचारिक र साङ्गठानिक कामलाई कोठाभित्र प्रशिक्षण गरेर मात्र हुँदैन, सामाजिक सञ्जाल मार्फत पनि प्रस्तुत गर्नुपर्दछ ।
उहाँले नियमित सम्पर्क र सम्वाद नगर्दा मानिसहरू बरालिने हुँदा पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकसँग पनि नियमित सम्पर्क र सम्वादमा रहन आग्रह गर्नुभयो । सामाजिक सञ्जालको प्रयोग मार्फत पनि नियमित सम्पर्क र सम्वादमा रहन सकिने उहाँको धारणा छ ।
युवाका बीचमा पार्टीलाई स्थापित गर्न आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले पार्टीले यस वर्षको स्थापना दिवस युवाको बीचमा पार्टी भन्ने मूल नाराका साथ नै मनाउन लागेको जानकारी दिनुभयो । राजनीतिक रूपमा जोडिएका, नजोडिएका युवालाई सो अभियानमा जोड्नुपर्ने उहाँको भनाइ छ ।
देशको अबको आवश्यकता राजनीतिक धू्रवीकरण भएको बताउँदै उहाँले यसबाट राजनीतिक दल बलिया बन्ने बताउनुभयो । वैचारिक राजनीतिक ध्रूवीकरणले मात्र राजनीतिक स्थायित्व र स्थिरता सम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा (एमाले)को एकल बहुमत स्थापित गरी मुलुकलाई राजनीतिक स्थायित्व दिने गरी नेकपा (एमाले)ले काम गरिरहेको पोखरेलले बताउनुभयो ।