२५ चैत (२०८१), सिन्धुली । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न जरूरी भएको बताउनुभएको छ ।
नेकपा (एमाले) सिन्धुलीको पाँचौं सचिवालय बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बाग्मती प्रदेश इन्चार्ज डा.भट्टराईले नेकपा (एमाले)ले बोकेको विचार जनताको बहुदलीय जनवादकै आधारमा नेपाल अगाडि बढिरहेको बताउँदै जनताको विचार बोक्न नसक्ने पार्टीमात्रै बूढो हुने धारणा राख्नुभयो ।
एमालेले जानीजानी समाजलाई घाटा नहुने काम कहिल्यै नगरेको र गलत गर्नेलाई बचाउनेगरी पार्टी कहिल्यै नलाग्ने उहाँले प्रष्ट पार्नुभयो । एमाले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुनेगरी नीति बनाउने बताउँदै नेता भट्टराईले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज क. मनोज जंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउँदै पार्टी कमिटीका नेता कार्यकर्तालाई अभियानमा अझ जुझारु ढङ्गले लाग्न निर्देशन दिनुभयो । एमालेकै कारण सुनकोशी–मरिण डाइभर्सन आयोजना, मदन भण्डारी र पुष्पलाल लोकमार्ग निर्माण भएको र त्यसैका आधारमा आज जिल्लाको समग्र विकासमा एमालेले नेतृत्व गरिरहेको प्रष्ट पार्नुभयो ।
आज सम्पन्न बैठकले पार्टी सदस्यता नवीकरण , विस्तारका लागि तीब्र ढङ्गले लाग्ने, जरा केन्द्रित अभियानको समीक्षा, बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने लगायतका निर्णय गरेको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकलाई उपाध्यक्ष कर्ण घिसिङले स्वागत र सचिव नवराज थिङले सञ्चालन गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजंग राई, उमा कोइराला, सुवास देवकोटा र निरु दर्लामी सहभागी हुनुहुन्थ्यो ।