detail-img

गणतन्त्रले केही दिएन भन्ने मण्डलेहरूलाई गाउँ गाउँमा नाङ्गेझार बनाउनुपर्छः महासचिव पोखरेल

२६ चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजतन्त्रले नेपालमा कहिल्यै पनि सत्कर्म नगरेको बताउनुभएको छ । 
मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक कसैले पनि सत्कर्म नगरेको प्रष्ट पार्नुभयो । 
गाउँघरमा एउटा भनाइ छ– मान्छेले सत्कर्म गरेको रहेनछ भने मरेपछि प्रेत बनेर दुःख दिन्छ, सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ, दुष्कर्म गरेको रहेछ भने प्रेत बनेर दुःख दिन्छ, नेपालको राजनीतिमा अढाई सय वर्षसम्म शासन गरेको शाह वंशीय शासन सत्ताले सत्कर्म गरेको रहेनछ, त्यसैले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ, हामी त्यही प्रेत मन्छाउन आएका छौँ’, महासचिव पोखरेलले भन्नुभयो । 
जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी सल्बलाएकाले त्यसको खबरदारी गर्न एमाले सडकमा आउनु परेको उहाँले बताउनुभयो । जनताले ल्याएको परिवर्तनका विरुद्ध औँला ठड्याएकाले त्यसका विरुद्ध खबरदारी गरिएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
उहाँले नेकपा (एमाले) जनताले रोजेको पहिलो पार्टी भएकाले जनताले ल्याएको परिवर्तनको संरक्षणको लागि नेकपा (एमाले) जनताका बीचमा आएको र जनताले ल्याएका परिवर्तन अरू कसैले नबोके पनि एमाले एक्लैले बोक्ने स्पष्ट पार्नुभयो । 
राजावादी मण्डलेहरूले देशमा केही भएन भनिरहेको बताउँदै उहाँले २०४६ सालपछि कस्तो परिवर्तन भयो भन्ने कुरा हेर्न कर्णाली आउन निम्तो दिनुभयो । 
‘कर्णालीलाई अध्यारोमा राख्नेहरू गणतन्त्रले के दियो भन्छन्, नुन खानको लागि हेलिकप्टर हेर्नुपर्ने कर्णालीवासीलाई गणतन्त्रले घरघरमा नुन पुर्याइदियो, कर्णालीवासीलाई चामलको भात खाने बनायो, मोटर बाटो दियो, गाउँ गाउँमा मोटर बाटो पुर्यायो, गणतन्त्रले दिएको परिवर्तन देख्न नसक्ने मण्डलेहरू राजाको शासनकालमा कर्णाली कस्तो थियो ?’, उहाँले भन्नुभयो । 
गणतन्त्रले केही दिएन भन्ने मण्डलेहरूलाई गाउँ गाउँमा नाङ्गेझार बनाउनुपर्ने उहाँले बताउनुभयो । पञ्चायतको समयमा नेपाल कस्तो थियो भन्ने कुरा तथ्य र प्रमाणको आधारमा भन्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
देशको विकास सोचे जस्तो हुन नसकेको भए पनि राजा र मण्डलेहरूले ध्वस्त पारेको देश र अर्थतन्त्रलाई गणतन्त्रले अघि बढाउने काम सुरु गरिसकेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाटोमा नेपाल अघि बढेको बताउँदै राजावादीहरूले रोजेको बाटो विनाशको बाटो भएको स्पष्ट पार्नुभयो । 
पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले निरन्तर काम गर्न पाएको भए अहिले देशको विकास धेरै माथि पुगेको हुने थियो भन्दै उहाँले एमालेले राम्रो काम गरेका कारण सरकारबाट हटाउने काम भएको स्मरण गर्नुभयो । 
महासचिव पोखरेलले विकास खाने नेताबाट देशलाई जोगाएर विकास गर्ने नेतालाई सत्तामा ल्याउनुपर्ने बताउनुभयो । मुलुकलाई सङ्कट पर्दा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेका इतिहास धेरै रहेका र अहिले पनि देशका लागि दुई पार्टीको सहकार्य आवश्यक देखिएकाले दुईपार्टी मिलेर सरकार गठन गरेको स्पष्ट गर्दै दुवै दलले मुलुकको स्थितिलाई सुधार गर्ने अठोट र सङ्कल्प गरेको उहाँले बताउनुभयो ।  
सधैँभरि भूमिहीनको कुरा गर्ने, सुकुम्वासीको कुरा गर्ने माओवादीले त्यो समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याउँदा त्यसलाई पास गर्नबाट पछि हटेर आफ्नो असली चरित्र देखाएको महासचिव पोखरेलले बताउनुभयो । तर पनि त्यो अध्यादेशलाई नियमित विधेयकको रूपमा ल्याएर आउने अधिवेशनबाट पास गरी भूमि समस्या समाधान गरिने  प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मुलुकमा निराशाको खेती गरेर नेपाली समाजलाई नयाँ बाटो खोज्ने दिशातर्फ होइन, निराशाको खाडलमा हाल्ने षडयन्त्र भइरहेको महासचिव पोखरेलले बताउनुभयो । त्यस प्रकारका षडयन्त्रलाई चिरेर नेकपा (एमाले) अघि बढ्न चाहेको उहाँको भनाइ छ । नेपालमा भएका सबै समस्यालाई चिरेर अघि बढ्ने क्षमता नेकपा (एमाले)ले मात्र राख्ने बताउँदै उहाँले त्यसको लागि आउने निर्वाचनमा एमालेलाई बहुमतसहित सत्तामा पुर्याउन उहाँले आग्रह गर्नुभयो । 
नेकपा (एमाले)ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना देखेको भन्दै उहाँले त्यो यात्रामा प्रतिगामीले दुःख दिन लागेको बताउनुभयो । प्रतिगामीलाई कहिल्यै नफर्कने गरी भगाउन नेपाली जनता जुरमुराएर उठ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटीले निरङ्कुश राजतन्त्रलाई नेपाली जनताले मसानघाटमा पुर्याइ सकेको बताउनुभयो । 
नेता बोगटीले अब पनि वंश र परम्पराको आधारमा शासन गर्ने सपना नदेख्न पूर्व राजा र उनका समर्थकहरूलाई आग्रह गर्नुभयो । 
‘जरा गाडेर बसेको राजतन्त्रलाई नेपाली जताले जरैबाट उखेलेर मसानघाटमा पुर्याइ सकेका छन्, देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना गरेकै १७ वर्षको समयावधि हामीले बिताइ सकेका छौं’, उहाँले भन्नुभयो । 
उहाँले नारायणहिटीबाट निकालेर  नागार्जुनमा धम्क्याइएका राजाले केही मानिस उफारेर काठमाडौंमा हुलहुज्जत गरेको घटनालाई एमालेले स्वीकार्न नसक्ने बताउनुभयो । ‘लोकतन्त्र माथि धावा बोलेको कुरालाई नेकपा (एमाले)ले टुलुटुलु हेरेर बस्न सक्दैन’, बोगटीले भन्नुभयो । 
जनताका साझा सवालका विषयलाई अझ सुदृढ रूपमा उठाउन र प्रतिगमनकारीको षडयन्त्रलाई चिर्न एमालेले जागरण सभा आयोजना गरेको उहाँले स्पष्ट पार्नुभयो । मरिसकेको राजतन्त्र कतैबाट पनि फर्केर आउने बाटो नभएकाले राजावादीलाई अनावश्यक विषय नउछाल्न बोगटीले आग्रह गर्नुभयो । 
बोगटीले पूर्वराजालाई राज्यले दिएको सुविधा समेत बढी भएको बताउँदै त्यो खोस्नुपर्ने धारणा राख्नु भयो । 
यसैगरी, पार्टीका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका सबै गणतान्त्रिक शक्तिको सम्पत्ति भएको बताउनुभयो । 
मुख्यमन्त्री कँडेलले गणतान्त्रिक शक्तिको लामो सङ्घर्षबाट यो व्यवस्था स्थापित भएको र यसमा एमालेको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउनुभयो । 
जसले लामो समय शासन सत्ता चलायो उनीहरूले नै अहिले देशमा शासन व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फिँजाइरहेको बताउँदै उहाँले भन्नुभयो– देशको व्यवस्थामा परिवर्तन भयो, अब एमालेको काँधमा देशको अवस्था परिवर्तन गर्नुपर्ने जिम्मेवारी रहेको छ । 
देशको अवस्था र स्थिति विगतको भन्दा बदलिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र त्यही काम गर्नको लागि एमालेले आउने चुनावमा एकल बहुमत मागेको उहाँले स्पष्ट पार्नुभयो । 
लोकतन्त्र र गणतन्त्र माथि कसैले औँलो ठड्याउँदा नागरिकका अधिकार नै सङ्कटमा पर्ने नेता कँडेलले स्पष्ट पार्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य मोहनमाया ढकाल, नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह लगायत  नेताहरूले पनि बोल्नुभएको थियो ।