२९ चैत (२०८१), काठमाडौं । नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रको बैठक शुक्रबार सम्पन्न भएको छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षता बैठक भएको हो ।
बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो–देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको हो ।
उपमहासचिव ज्ञवालीले अहिले पनि मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका र राजवादीको नाममा काठमाडौंमा गराइएको घटना त्यसकै उदाहरण भएको बताउनुभयो । उहाँले भन्नुभयो– अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्समा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले ।
मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो । अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उहाँको धारणा छ ।
बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताउनुभयो । त्यसैलाई दृष्टिगत गरी नेकपा (एमाले)ले युवा केन्द्रित अभियान सुरु गरेको र पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उहाँले जानकारी गराउनुभयो । पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा युवा उत्सव गर्न लागेको उहाँले बताउनुभयो ।
संयोजक ढकालले बैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसङ्गठनलाई आग्रह गर्नुभयो । यसमा युवाको ऐतिहासिक सहभागिता हुने गरी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो, केन्द्रीय कमिटीका नेताहरू तथा जनसङ्गठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।