दमकमा जनजागरण सभाको प्रचारका लागि मोटरसाइकल र्याली सम्पन्न
२९ चैत (२०८१), दमक । झापाको दमकमा नेकपा (एमाले)ले भोलि गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने तयारी भएको छ । दमकको पशुहाटमा हुने सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली आयोजना गरियो । दमकदेखि शुरु भएको र्याली गौरीगन्ज गएर समापन गरिएको थियो ।
सभालाई नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने बताउनुभयो ।
सभा स्थलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि औला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताउनुभयो ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्ध हो’, स्थायी कमिटी सदस्य राईले भन्नुभयो– त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको हो ।
जनजागरण सभाबाट चैत १५ गते काठमाडौंमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराइने नेता राईले बताउनुभयो ।
‘प्रतिगमनकारी शक्तिहरूलाई हामी जवाफ दिन चाहन्छौं, परिवर्तनको पक्षमा जनता जुनसुकै मुल्य चुकाउन तयार रहेका छन्’, नेता राईले भन्नुभयो– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक, आर्थिक रुपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् ।
सबै खाले अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको उहाँले बताउनुभयो ।
किन दमकमा सभा ?
शेरधन राई– अहिले मुलुकको सिङ्गो कम्युनिष्ट आन्दोलनको नेतृत्व दमकले गरिराखेको छ । सिङ्गो मुलुकको नेतृत्व दमकले नै गरेको छ । यो दमकमाथि अहिले आक्रमण भइरहेको छ, सबैको निसानामा दमक परेको छ । केन्द्रको निसानाको प्रहारमा केपी शर्मा ओली हुनुहुन्छ, हामी यहीँ ठाउँबाट यी प्रहारहरूलाई यी घेराबन्दीहरूलाई, ती प्रहारहरूलाई चिर्न चाहन्छौं, परास्त गर्न चाहन्छौं । हामी सबै खालका अफवाह र लान्छनालाई चिर्दै खण्डन गर्दै परिवर्तनकालमा खासगरी जनताले चुनेका प्रतिनिनिधिहरूले राज्य सञ्चालन गर्ने प्रणाली स्थापित भएपश्चात हामीले प्राप्त गरेका उपलब्धि र प्रगतिहरू सुधारका कामका फेहरिस्त सभामा राख्ने छौं । राजाहरूको पालामा जनताको जीवनस्तर के थियो ? र राजनीतिक परिवर्तन पश्चात के भयो ? त्यसको फेहरिस्त हामीले राख्ने छौं ।
सभामा कति र कहाँ कहाँबाट हुन्छ सहभागिता ?
झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो सङ्ख्यामा सहभागिता रहने कोशी इन्चार्ज राईले जानकारी दिनुभयो । यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा सहभागी हुने उहाँले बताउनुभयो । पूर्वबाट आउने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्यालीसहित प्रवेश गराइने छ । यस्तै पश्चिमबाट आउनेहरू पश्चिम स्टेनबाटै र्याली सहित सभामा प्रवेश गर्ने छन् ।
सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन् । यस्तै बिभिन्न कलाकारहरूले समेत प्रस्तुति दिने छन् ।