३० चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्घीयता, लोकतन्त्र र गणतन्त्र नेपाली जनताको बलिदानबाट प्राप्त व्यवस्था भएको बताउनुभएको छ ।
नेकपा (एमाले)ले पोखरामा आयोजना गरेको जनजागरण सभालाई शनिबार सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनताको अगाध स्नेह भएको बताउनुभयो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र कसैको दया मायाले आएको व्यवस्था होइन, नेपाली जनताले दशकौँ दशक गरेको सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो, यो उपलब्धिलाई अहिले कसैले खोस्न खोजेर खोस्न सक्दैन’, उहाँले भन्नुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा फिँजाइएको भ्रमका विरुद्ध नेकपा (एमाले)ले खबरदारी गर्ने स्पष्ट पार्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– अनिर्वाचित सत्ता र वंश परम्परा विरुद्धको खबरदारीको रूपमा नेकपा (एमाले)ले देशभरि खबरदारी सभा गरिरहेको छ । जनताले दशकौँ दशक लगाएर प्राप्त गरेको अधिकार कसैले खोस्न खोज्छ भने एमाले त्यसको विरुद्धमा दृढतापूर्वक उभिने छ ।
लोकतन्त्रको रक्षा लोकतन्त्रवादी दलहरूको प्रमुख दायित्व भएको उहाँले बताउनुभयो । लोकतन्त्रको विपक्षमा धेरै भ्रम फिँजाउने प्रयास गरिएको बताउँदै उहाँले राजाको प्रत्यक्ष शासन हुँदा देशको अवस्था कस्तो थियो र लोकतन्त्र आएपछि कस्तो भयो भन्ने कुरा तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले देशका दुई ठुला राजनीतिक दलको सरकार बनेको बताउँदै यो सरकार मुलुकको स्थिरता र विकासको लागि बनेको बताउनुभयो । सरकार अहिले सोही दिशातर्फ अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताउनुभयो । त्यसैले ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको धारणा छ ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजनी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो, त्यो सम्पूर्ण कामको जबाफदेही, त्यसको योजनाकार, मास्टरमाइण्ड पूर्वराजा ज्ञानेन्द्र थिए, जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु, । जसरी एउटा नागरिकले गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले पूर्वराजालाई दण्डको भागिदार बनाउनुपर्छ ।
शिक्षा विधेयक र निजामती सेवा विधेयक वर्तमान सरकारले वर्षे अधिवेशनबाट पारित गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
मुलुकलाई म्याजिक नम्बरहरूले खेलाएर अस्थिरता कायम नगरुन् भन्ने उद्देश्यले कांग्रेस र एमालेबीच सहकार्य भएको र यो सरकारले देशका सबै क्षेत्रका समस्या समाधान गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।