detail-img

लोकप्रियतावादको आवरणमा गर्ने अपराध उन्मुक्तिको विषय हुन सक्दैनः महासचिव पोखरेल

३० चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकप्रियतावादको गलत आवरणमा भइरहेको गलत क्रियाकलाप्रति सबै नागरिक सचेत हुनुपर्ने तथ्य स्मरण गराउनु भएको छ । 
राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । 
सम्बोधनको क्रममा लोकप्रियतावादको व्याख्या गर्दै महासचिव पोखरेलले रवि लामिछाने नेतृत्वको रास्वपाको कुनै लक्ष्य र उद्देश्य नभएको बताउनुभयो ।
लामिछाने लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजनाको योजनाकार भएको र लोकप्रियतावादको आवरणमा गर्ने अपराधहरू उन्मुक्तिको विषय हुन नसक्ने उहाँले बताउनुभयोे ।
‘रवि लामिछाने त लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजनाको योजनाकार पो रहेछन् भन्ने प्रमाणित भयो । लोकप्रियतावादको आवरणमा गर्ने अपराधहरू उन्मुक्तिको विषय हुन सक्दैन’, महासचिव पोखरेलले भन्नुभयो । उहाँले अहिले लोकप्रियतावादकै नाममा अपराधकर्म मौलाउन दिनुपर्ने मान्यता अघि सारिएको भन्दै त्यसका बिरुद्ध राज्य कडारूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
‘अहिले लोकप्रियतावादको नाममा नीतिविहीनता, उद्देश्य र लक्ष्यविहीनता तथा अराजकतातिर समाजलाई धकेल्ने प्रयास भइरहेको छ । रास्वपाले पुरानाले गर्न सकेनन्, नयाँलाई मौका दिनुपर्छ, जान्नेलाई छान्ने भन्नुपर्छ भन्थ्यो । पूर्वराजावादीहरूको आपराधिक क्रियाकलापका बारेमा पत्रकारहरूले बोल भन्दा बोल्न चाहेनन् । गणतन्त्रबारे दृष्टिकोण के हो भन्दा न हाँस न त कुखुराको चाल जस्तो । क्या हो ? क्या हो ?’, महासचिव पोखरेलले भन्नुभयो– यस्ताहरूले समाजको नेतृत्व गर्न सक्छन् ? राजनीति स्पष्टताको मार्ग खोज्छ । त्यसैले यस्तो लोकप्रियतावादले समाजलाई अगाडि बढ्न रोक्छ ।
उहाँले जान्नेलाई छान्ने भन्नेहरूलाई सहकारीको पैसा कम्पनीमा लान पाइँदैन भन्ने पनि थाहा नपाएको भन्दै व्यङ्ग्य गर्नुभयो ।