detail-img

मुलुकलाई विभिन्न कोणबाट अस्थिरतातर्फ धकेल्ने कोसिस भइरहेको छः उपमहासचिव ज्ञवाली

३० चैत (२०८१), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार आएपछि देशमा आर्थिक, सामाजिक विकास र कूटनीतिक सम्बन्धका क्षेत्रमा पनि धेरै काम भएको बताउनुभएको छ । 
नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सरकार बनेपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन बनेर पीडितले न्याय पाउने आधार निर्माण भएको, छिमेकी देश बीच सन्तुलित सम्बन्ध कायम गरी देशलाई अघि बढाउने काम भएको, सहकारीका बेथिति अन्त्य गरेर पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका काम भएको बताउनुभयो । 
सहकारी ठगीमा संलग्न जो भए पनि उनीहरूको मुख नहेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । 
मुलुकले अहिले एउटा कोर्स समातेको बताउँदै उहाँले यो कोर्स उल्टाउने र मुलुकलाई अस्थिरतातिर धकेल्ने कोसिस विभिन्न कोणबाट भइरहेको बताउनुभयो । नेपालको सबैभन्दा ठुलो समस्या अस्थिरता भएको बताउँदै उहाँले अहिले पनि तिनै तत्वहरूले देशलाई अस्थिरतामा लैजाने प्रयास गरिरहेको बताउनुभयो । 
उपमहासचिव ज्ञवालीले भन्नुभयो– पानी धमिल्याउने, माछा मार्ने, कमजोर राज्य बनाउने र दोहन गर्ने, मुख्य पार्टीलाई किनारा लगाउने र बिचौलियाहरूले राज्य चलाउने, यो खालको श्रृङ्खलालाई हामीले रोक्ने प्रयत्न ग‍र्यौँ, अहिले त्यसलाई फेरि उल्टाउने खेल भइरहेको छ । 
माओवादी अध्यक्ष प्रचण्डले अस्थिरताको खेलमा खेल्न फेरि पनि प्रयत्न गरिरहेको चर्चा गर्दै प्रचण्डले अहिले कांग्रेस सरकार बनाओस्, हामी बाहिरबाट सघाउँछौँ भनेर कांग्रेसलाई ललिपप फालेको उहाँले बताउनुभयो । 
यही अस्थिरताको खेलभित्र सम्पूर्ण हिसाबले समाप्त भएको सामन्ती राजतन्त्रले समेत टाउको उठाउने प्रयत्न गरेको उहाँले बताउनुभयो । आफूलाई राजावादी भन्ने र पूर्वराजाका समर्थक ठान्नेहरू फेरि सलबलाउन लागेका र पूर्वराजावदीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलन कुनै राजनीतिक आन्दोलन नभएको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– उनीहरूको प्रयत्न आयल निगमको इन्धन स्टोरमा आगो लगाएर देशलाई तहसनहस बनाउने आपराधिक सोच थियो, पत्रकालाई ज्युँदै जलाउनेसम्मका हरकत भए । नेकपा (एमाले) देश बन्छ र बनाउन सकिन्छ भन्ने विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको तर अर्को पक्ष देशमा केही भएन, केही हुँदैन भन्ने पक्षमा रहेको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । केही मानिसहरू फेरि जातीय सद्भाव खलबल्याउन सकिन्छ कि भनेर लागेका र देशलाई द्वन्द्वतिर धकेल्नका लागि अनेक खालका प्रयास भएका उहाँको धारणा छ । 
लोकतन्त्र र राजतन्त्र सँगै जान सक्दैन भन्ने निष्कर्षका साथ नेपालमा राजतन्त्र फालिएको उहाँले बताउनुभयो । त्यसैले अब नेपालमा राजतन्त्र नफर्किने र फर्कन नदिने उपमहासचिव ज्ञवालीले प्रतिबद्धता व्यक्त गर्नुभयो । 
उहाँले राजतन्त्रले घुँडा टेकेको दिन वैशाख ११ गते लोकतन्त्र दिवस सेलिब्रेसनको कार्यक्रम आयोजना गरिएको र त्यसमा सहभागिता जनाउ युवाहरूलाई आह्वान गर्नुभयो ।