detail-img

केन्द्रीय सचिवालयको ४८औं बैठक सम्पन्न

-कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने सातजना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिने 
-बैशाख ११ गते युथ सेलिब्रेशन युवाको व्यापक सहभागिताका साथ सम्पन्न गरिने
-समसामयिक विकसित राजनीतिक घटनाको गम्भीरतापूर्वक छलफल

१ बैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४८औं बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । बैठकमा अध्यक्ष कमरेडले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराउनुभयो । सो विषयमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ । 
बैठकले देहाय बमोजिम निर्णय गरेको छ-
१.नयाँबर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गरेको छ । 
२.यही वैशाख ९ गते पार्टीको ७६औं स्थापना दिवस व्यापक जनसहभागिताबीच भव्यरूपमा मनाउने । सोही दिन नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका सातजना विशिष्ट व्यक्तित्वहरूलाई ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गर्ने । 
सम्मान गरिने व्यक्तित्वहरू क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ । 
यसैक्रममा पार्टी केन्द्रबाट प्रकाशित ‘शेल्टर’ नामको पुस्तक विमोचन गरिने छ । 
३.राज्यशक्तिको स्रोत जनता हो, राजकीय सत्ता जनतामा रहेको उद्घोष गरिएको दिन अर्थात् लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाहरूको उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय गरिएको छ ।