detail-img

देशका लागि काम गर्न सक्षम जो छ उसैमाथि आक्रमण गर्नु निन्दनीय

४ बैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजतन्त्रको समाज अँध्यारो समाज भएको बताउँदै विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झन आग्रह गर्नुभएको छ । 
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताउनुभएको छ । 
लोकतन्त्र आएपछि देश विकासको पथमा अघि बढिरहेको तर राजनीतिक स्थिरताको अभावमा जति आवश्यकता हो त्यस अनुसार विकासको गति अघि बढ्न नसकेको उहाँले प्रष्ट पार्नुभयो । 
देश बनाउने हो भने अब राजनीतिक स्थायित्वको दिशामा जान जरुरी रहेको बताउँदै महासचिव पोखरेलले त्यसको लागि नेपालमा बलिया राजनीतिक दल आवश्यक रहेकोमा जोड दिनुुभयो । देश विकासको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक पार्टी र राजनीतिक स्थिरता चाहिने उहाँले बताउनुभयो । 
जो देशको लागि काम गर्न सक्षम त उसैमाथि आक्रमणको प्रयास भइरहेको उहाँले बताउनुभयो । सक्षम नेतृत्वलाई खुइल्याउने काम भएको महासचिव पोखरेलले बताउनुभयो । आफ्नो सबै सम्पत्ति आफ्नो शेषपछि राष्ट्रको नाममा हस्तान्तरण गर्ने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाउने काम भएको भन्दै उहाँले त्यसको निन्दा गर्नुभयो । 
महासचिव पोखरेलले अब देश बनाउने पार्टी एमाले नै भएको र त्यसका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । एमालेलाई एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन पार्टीलाई गोलबन्द बनाएर लैजानुपर्ने तथा विगतको कामको समीक्षा गरी भविष्यको दिशा निर्देश गर्नुपर्ने उहाँको धारणा छ ।  
देश विकासको लागि राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले भन्नुभयो– सामाजिक अराजकताको चरित्रलाई बदल्न सकिएन भने राष्ट्र निर्माणको हाम्रो आकाङ्क्षा पुरा हुन सक्दैन । 
देशलाई पछाडि धकेल्न चाहनेलाई रोकेर देश निर्माणको अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । यसमा भूतपूर्व सैनिक र प्रहरीको महत्वपूर्ण भूमिका रहने महासचिव पोखरेलको धारणा छ । उहाँले पार्टी र देश विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।