८ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)ले वैशाख ९ गते मनाइने पार्टी स्थापना दिवस र बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारीलाई तीब्र बनाएको छ ।
जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
तयारी क्रममा आइतबार (वैशाख ७ गते) नेकपा (एमाले)बाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरियो । वडास्तरसम्मका करिव पाँचसय जनप्रतिनिधिको उपस्थिति रहेको भेलालाई पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
महासचिव पोखरेलले सम्बोधन क्रममा वैशाख ११ र पार्टीले आयोजना गर्न लागेको युवा उत्सव, समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा जानकारी गराउँदै कार्यक्रममा युवाको सहभागिता र जनप्रतिनिधिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिनुभएको थियो ।
भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।
सोही विषयमा केन्द्रित रहेर जनसङ्गठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसङ्गठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल र जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सम्बोधन गर्नुभएको थियो ।
यसैबीच कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीको उपत्यका कोर–सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि गरिएको छ । बैठकलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
‘युवा सेलिब्रेसन’ जनताले जितेको दिन खुशीयाली मनाउने उत्सवः ढकाल
नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सो दिनलाई जनताले जितेको दिन भएकाले उत्सवको रूपमा मनाउन लागिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– युवा सेलिब्रेसन कुनै प्रदर्शन नभई उत्सवको रूपमा मनाउन लागिएको हो ।
‘बैशाख ११ गते लोकतन्त्रले जितेको दिन, जनताले खुसी मनाएको दिन र सदियौँ वर्षदेखिको निरङ्कुशता अन्त्य गरेर आफ्नो संविधान आफैँ बनाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मार्गप्रशस्त गरेको दिनलाई युवा सेलिब्रेसनको रूपमा मनाउन लागिएको हो’, नेता ढकालले भन्नुभयो ।
सो कार्यक्रम मूलतः ४० वर्षसम्मका युवायुवतीलाई लक्षित गरी आयोजना गरिएको स्पष्ट गर्दैै उहाँले भन्नुभयो– आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई नयाँ पुस्ताले आत्मसात गर्ने, त्यसका पक्षकाबारे जानकारी लिने तथा समृद्ध नेपाल, सुखी नेपाली बनाउने सन्दर्भमा युवाको सोच र जाँगरलाई कसरी अहिलेको अवस्थामा स्थान दिन सकिन्छ, देश रूपान्तरणमा युवालाई कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा बहस गर्न र भावी नेतृत्वको रूपमा युवालाई विकास गर्नका निम्ति देशभरिबाट युवाको प्रतिनिधित्व गराएर कार्यक्रम गर्ने भनेका छौँ ।
कार्यक्रमको तयारीमा मूलतः युवाहरू नै लागेको र पार्टीले सहयोग गरिरहेको नेता ढकालले बताउनुभयो । देशभरिका ७७ वटै जिल्ला, सबै पालिका र वडाबाट युवाको प्रतिनिधित्व गराउने गरी कार्यक्रमको डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लागि पार्टीका नेताहरू, जनसङ्गठन, जनप्रतिनिधि, नागरिक अगुवा लगायतको उपस्थितिको अपेक्षा गरिएको स्थायी कमिटी सदस्य ढकालले बताउनुभयो ।
कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि भएका बलिदान, युवाहरूले अनुभूत गरेको विषयवस्तुहरू समेत राखिने छ भने नेतृत्वका तर्फबाट यो व्यवस्था कसरी आयो भन्ने कुरा राखिने छ ।
यो कार्यक्रमलाई आमभाषणको कार्यक्रम भन्दा फरक रूपमा आयोजना गरिने र खुसीयाली साटासाट गर्ने कार्यक्रम भएकाले थोरै मन्तव्य धेरै खुसीयाली साटासाटको कार्यक्रम हुने उहाँले स्पष्ट गर्नुभयो ।
नेता ढकालले भन्नुभयो– यो सडक आन्दोलन होइन, कुनै शक्ति प्रदर्शन पनि होइन, कुनै विषयका लागि दबाब दिन गर्न लागिएको प्रदर्शन पनि होइन, यसलाई रचनात्मक ढङ्गले युवाहरूको संलग्नतामा, लोकतन्त्र प्राप्तिको खुसीयाली साटासाट गर्ने कार्यक्रम हो, युवाको सहभागिता र गतिविधिले समाजमा उठेका नकारात्मक कुरालाई एकमुष्ट रूपमा जवाफ दिनको लागि यसले सहयोग पुग्ने छ ।
अनेरास्ववियुको विशेष तयारी
यसैबीच, बैशाख ११ गते भृकुटीमण्डपमा गरिने युथ सेलिब्रेसनका लागि अनेरास्ववियुले विशेष तयारी गरेको छ ।
जनताले जितेको दिनको रूपमा पार्टीले आयोजना गर्न लागेको सेलिब्रेसनलाई विशेष बनाउन सङ्गठनको तर्फबाट विशेष योजना बनाइएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।
‘जनताले जितेको दिन कलेज पढ्ने आम विद्यार्थीलाई सेलिब्रेसनमा सहभागी बनाउने हामीले योजना बनाएका छौँ, यसैगरी अनेरास्ववियुबाट स्ववियु निर्वाचन जितेका विद्यार्थीहरू, पालिका कमिटी र जिल्ला कमिटीका नेताहरूलाई पनि काठमाडौं उतार्ने हामीले योजना बनाएका छौँ, उपत्यकामा वडा केन्द्रित भएर भूगोलमा, शैक्षिक संस्था केन्द्रित भएर क्याम्पसका विद्यार्थीलाई सहभागी गराउने गरी काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।
अहिलेको पुस्ताले लोकतन्त्र कसरी आयो र यसको महत्व के छ भन्ने कुरा बुझोस् भन्नको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बडालले जानकारी दिनुभयो । यो कार्यक्रम विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कार्यक्रम भएको धारणा राख्दै अध्यक्ष बडालले भन्नुभयो–जनताको बलले सामन्ती संस्था ढलेर जनताका प्रतिनिधि स्थापित भएको दिन, यो जनताले जितेको दिन हो भन्ने नयाँ पुस्ताले अनुभूति गर्न पाउन् भनेर कार्यक्रम आयोजना गरिएको छ ।
आजको पुस्ताले परिवर्तनको आभास गर्न पाउनुपर्ने बताउँदै उहाँले यो कुरा पाठ्यक्रममा समेत समावेश गर्नुपर्ने बताउनुभयो । ‘अहिले पुस्ताले पनि गणतन्त्रको अनुभूति गर्न पाउनु पर्छ, अहिले केही निराशामा टेकेर त्यही पुरानै जनतालाई रैती बनाउने व्यवस्था ठिक थियो भन्ने भ्रम फिँजाउन खोजिएको छ, त्यसलाई चिर्नु पर्छ, त्यो व्यवस्थाले दास बनाएको कुरा नयाँ पुस्ताले थाहा पाउनु पर्छ, त्यो सन्देश प्रवाह हुनुपर्छ भनेर यो कार्यक्रम आयोजना गरिएको हो’, उहाँले भन्नुभयो ।
सेलिब्रेसन कार्यक्रमले नयाँ पुस्तालाई सो कुराको ज्ञान दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । गणतन्त्र प्राप्तिसँग जोडिएका कन्सर्ट, झाँकी र डेमोस्ट्रेसनहरू कार्यक्रममा समावेश गरिने बडालले जानकारी दिनुभयो ।