हजारौं युवाको सहभागितामा लोकतन्त्र दिवसमा ‘युथ सेलिब्रेशन’
-बैशाख ११ हिंसाको राजनीति अन्त्य गर्दै देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रले जनतासामु घुँडा टेकेको दिन
११ वैशाख(२०८२), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र तागत देखाउनुपर्ने बताउनुभएको छ ।
लोकतन्त्र दिवस अर्थात जनताले जितेको दिनका अवसरमा नेकपा (एमाले)द्वारा आज भृकुटीमण्डपमा आयोजित युुवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभयो ।
‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान नेपाल हो, नेपाली जनता महान जनता हुन् । महान नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराई गर्नेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ । निरङ्कुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको हो । सामन्ती व्यवस्थालाई पुनः फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जङ्गली र राक्षसी प्रकृत्ति गलत हो । यस्ता कार्य सैह्य हुँदैन ।
एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरिरहेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको स्पष्ट गर्नुभयो ।
आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै उहाँले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएको भन्दै यसमा सचेत हुनुपर्ने बताउनुभयो ।
जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न महासचिवको आग्रह
कार्यक्रममा महासचिव शंकर पोखरेलले राष्ट्र निर्माणको दायित्व युवाको काँधमा रहेको बताउनुभयो ।
विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेशमै फर्कन आह्वान गर्दै महासचिव पोखरेलले भन्नुभयो–तपाईँहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ ।
देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उहाँले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो ।
त्यो अभिभारा नेकपा (एमाले)ले पुरा गर्न सक्ने उहाँको धारणा छ । ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा (एमाले) छ, युवाको भविष्य सुरक्षित गर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिनुहुँदै वर्तमान प्रधानमन्त्रीको युवाप्रति अगाध स्नेह रहेको भनाइ राख्नुभयो ।
नेकपा (एमाले) देश र विकासको पक्षमा उभिएको कारण एमालेमाथि आक्रमण भएको महासचिव पोखरेलले बताउनुभयो । एमाले अघिल्लो पटक सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेको उहाँले जानकारी गराउनुभयो ।
एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न आग्रह गर्नुभयो ।
देशका दुई ठुला पार्टी मिलेर अहिले देशलाई अघि बढाउने प्रयत्न गरिरहेको बताउँदै उहाँले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएको बताउनुभयो ।
आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको बताउँदै महासचिव पोखरेलले देशभरका युवा नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनुपर्नेमा जोड दिनुुभयो ।
उहाँले नेपाल राष्ट्र युवाको राष्ट्र भएको र श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा रहेको प्रष्ट पार्नुभयो । कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न अघि बढ्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।
उहाँले बैशाख ११ हिंसाको राजनीति अन्त्य गर्दै देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रले जनतासामु घुँडा टेकेको दिन भएको बताउनुभयो । त्यसैले यो दिनको विशेष महत्व भएको उहाँले प्रष्ट पार्नुभयो ।
युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिहरूलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
युथ सेलिब्रेशनमा केही युवाले प्रतिनिधिमूलक ढङ्गले आ– आफ्ना धारणा राख्नुभएको थियो ।
काम गर्नेमाथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्व हुन्ः उपप्रमुख डङ्गोल
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत रहेको बताउनुभयो ।
नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएको धारणा राख्दै उपप्रमुख डङ्गोलले भन्नुभयो– जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन ।
अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उहाँले जति आक्रमण भए पनि विचलित नहुने दाबी गर्नुभयो । आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफूमाथि पनि निरन्तर आक्रमण गरिरहेका उपप्रमुख डङ्गोलले बताउनुभयो । ‘विकासका काम गर्नेमाथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्व हुन्’, उहाँले भन्नुभयो ।
उपप्रमुख डङ्गोलले नेपाली युवाले काम गर्न सक्छन् भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको बताउनुभयो । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफूमाथि निरन्तर आक्रमणमा लागि रहेका उहाँले स्पष्ट पार्नुभयो । ‘म रोकिन्न, म रोकिने मान्छे होइन, म मेरो सहर र मेरो देशको लागि काम गरिरहन्छु’, उहाँले भन्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँमाथि आक्रमण भइरहेको उहाँले बताउनुभयो । भूकम्पले थिलथिलो भएको देशलाई उठाउने प्रधानमन्त्री ओलीलाई सम्मान गर्नुको बदला राष्ट्र विरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ ।
युवाले सही र गलत छुट्याउनुपर्ने तथा युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उहाँको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन, सोच र कामले युवा हुने युवा नेतृ डङ्गोलले बताउनुभयो ।
एमालेले कसैको घर लुट्न नसिकाउने, सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने प्रष्ट पार्दै उहाँले भन्नुभयो– एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छ ।
जसले सपना देख्छ उसैले काम गर्ने बताउँदै उहाँले एमाले सपना देख्ने पार्टी भएको धारणा राख्नुभयो । उपप्रमुख डङ्गोलले भन्नुभयो– स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ । नेकपा (एमाले)का युवाहरू समस्याबाट भाग्ने युवा नभएकाले समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उहाँको धारणा छ ।
समावेशिता र समानताको ग्यारेण्टी लोकतन्त्रमा मात्र सम्भव
कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका स्ववियु सभापति विष्णु पोखरेलले समावेशिता र समानताको ग्यारेण्टी लोकतन्त्रमा मात्र सम्भव हुने बताउनुभयो ।
नेपालका क्याम्पसमध्ये सबैभन्दा बढी विद्यार्थी भएको सो क्याम्पसका स्ववियु सभापति पोखरेलले लोकतन्त्र त्याग, तपस्या र बलिदानको प्राप्ति भएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाकार नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओली हो, नेपालमा आशाको दियो नेकपा (एमाले)ले बाल्दै छ’, उहाँले भन्नुभयो ।
नेपाललाई मासु, तरकारी, फूल लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिँदै उहाँले युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा विदेशीले आएर काम गरिरहेका र नेपालबाट अर्बौं रुपैयाँ बाहिरिँदै गएको भन्दै युवाले देशमा नै कम गरेर देशको पैसा देशभित्र नै रोक्नुपर्ने भनाइ राख्नुभयो ।
देशलाई जति बेला सङ्कट आइपर्छ त्यति बेला देशको नेतृत्व गरेर समस्या समाधान गर्ने काम नेकपा (एमाले)का अध्यक्ष ओलीले गर्ने गरेको स्मरण गर्दै अहिले पनि देशका समस्या समाधान गर्ने अभिभावकीय दायित्व अध्यक्ष ओलीमा आएको र त्यसमा उहाँ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एक भएर अघि बढ्ने
त्यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एक भएर अघि बढ्ने बताउनुभयो ।
गणतन्त्रले राज्यका हरेक क्षेत्रमा सबै क्षेत्र, वर्ग र समुदायको सहभागिता सुनिश्चित गरेको बताउँदै उपप्रमुख थारूले भन्नुभयो– विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्, युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ ।
समतामूलक समाज निर्माणका लागि गणतान्त्रिक व्यवस्थाले टेवा पुर्याएको उहाँले बताउनुभयो । सङ्घर्षले ल्याएको गणतन्त्र रक्षाको लागि सम्पूर्ण युवा एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
देश बनाउन युवामा सकारात्मक सोच आवश्यक
युवा चिकित्सक डाक्टर आनन्द सिंहले नेपालमा केही भएको छैन भन्नेलाई उदाहरणसहित जवाफ दिनुभयो ।
एउटा दुर्गम गाउँमा जन्मिएको सामान्य परिवारको मानिसले राजधानीको भव्य मञ्चमा बोल्न पाउनु लोकतन्त्रको सुन्दरता भएको उहाँले बताउनुभयो । लोकतन्त्र सुन्दर छ, यो मैले मान्नु पर्छ, तपाईंले मान्नु पर्छ, सबैले मान्नु पर्छ’, डा. सिंहले भन्नुभयो ।
गणतन्त्रमा फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कारका नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको उहाँले बताउनुभयो । एकता सधैँ कायम हुँदा मात्र देश बन्ने धारणा राख्दै डा. सिंहले एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्नेमा जोड दिनुभयो ।
डा.सिंहले युवालाई निराश नहुन आग्रह गर्दै नेपालमा धेरै अवसरका बाटोहरू खुल्दै गएको बताउनुभयो । नेपाली कलेजहरूमा विदेशीहरू समेत अध्ययन र तालिमका लागि आउने गरेका र यो नेपालको ठुलो उपलब्धि भएको सिंहको धारणा छ । स्वास्थ्य बिमा विश्वका थोरै राष्ट्रले गरेको लोक कल्याणकारी काम नेपालमा भइरहेको उहाँको भनाइ छ ।
धेरै विकसित देशभन्दा नेपाल पछाडि रहेको स्वीकार्नु पर्ने बताउँदै उहाँले नेपालले सार्वभौमसत्ताको प्रयोग नै दुई सय वर्षभन्दा पछि गरेको कारण यो अवस्था आएको यथार्थ स्मरण गर्नुभयो ।
युवाले सकारात्मक सोच राख्नुपर्ने बताउँदै डा. सिंहले युवा सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देश सही दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
देशभरबाट हजारौंको सङ्ख्यामा उपस्थिति रहेको युथ सेलिब्रेसनमा कलाकारहरूले विभिन्न साङ्गीतिक प्रस्तुति दिनुभएको थियो भने सहभागीहरूले विभिन्न झाँकी, बाजागाजा, गीत र नृत्य प्रस्तुत गर्दै जनताको जितको उत्सव मनाइरहेका थिए । कार्यक्रममा सेल्फी लगायत तस्वीर खिच्न, भिडिओ बनाउन आकर्षक स्टलहरू निर्माण गरिएका थिए । दिनभरजसो पार्टीका पदाधिकारी नेताहरू सहभागीहरूसँगै रहनुभएकाले तस्वीर खिच्ने/खिचाउने अवसरले कार्यक्रम उत्सवमय बनेको थियो ।