११ वैशाख (२०८२), काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शिक्षामन्त्री पन्तलाई शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका सांसद पन्तलाई प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको थियो ।
नवनियुक्त शिक्षा मन्त्री पन्तले आजै पदबहाली गर्नुभएको छ । शपथपछि उहाँले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो । सो क्रममा उहाँले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताउनुभयो । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उहाँले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।