detail-img

सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री

१२ वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पपछि पुनःनिर्माणमा एकजुट भई विपत्ति सामना गरिएजस्तै राष्ट्रियहितका विषयमा पनि राष्ट्रिय एकता जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यहाँस्थित धरहरा परिसरमा आज आयोजित गोरखा भूकम्पको १०औँ स्मृतिसभामा उहाँले सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकताको अनिवार्य आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “गोरखा भूकम्पपछि संविधान निर्माणमा साथैसाथै अगाडि बढ्नुु पर्दछ भन्ने राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, राष्ट्रिय हितका विषयमा पनि हाम्रो एकता त्यसरी नै देखिनुु पर्दछ ।”

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भएको बताउँदै उहाँले प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताका माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रमा आलोचना स्वागतयोग्य हुन्छ, तर नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन, राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् ।”

गोरखा भूकम्पपछिको परकम्पले सबैमा एउटा त्रासदिपूर्ण मनस्थिति सिर्जना गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मान्छे राम्ररी सुत्न नसक्ने, खान नसक्ने, घरभित्र बस्दा सधैँ त्रसित हुने वातावरण महिनौँसम्म बनेको अवस्था उल्लेख गर्नुभयो । त्यसबेला भएका राष्ट्रिय एकता र अन्तरराष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गरिएका बताउँदै उहाँले त्यसप्रकारको साथ र सहयोग आगामी दिनमा पनि निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।

“विसं २०७२ को भूकम्पजस्तो कुरा जतिसुकै रिजिलियन्स भने पनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेट, क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हरेक व्यक्तिले पनि आफ्ना घरहरुलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनु जरुरी छ ।”

हामीले यस्तो स्थितिमा पनि पुनःनिर्माणको असाधारण क्षमता देखाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्दार तथा राहत वितरणमा सुरक्षा निकाय, सङ्घसंस्था र जनताले गरेका प्रयासहरु असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “पुनःनिर्माण र राहतदेखि वा उद्दारमा सहयोगी मित्रहरुले जसरी सहयोगका हात अगाडि बढाउनुभयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अर्थात् भुल्न नसकिने खालका छन् ।”

त्यस अवसरमा प्रधानमन्त्रीले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ होस्, त्यसपछिका भूकम्पजन्य कुराहरुलाई पनि हामीले त्यसैगरी ध्यान दिएका छौँ र ध्यान दिनुपर्छ ।”

त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले सम्भाव्य विपद्सँग सामना गर्न सरकारले गम्भीरताका साथ आवश्यक काम र तयारी अघि बढाएको बताउनुभयो ।