detail-img

स्व.अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुल्ला कितावः पूर्व राष्ट्रपति भण्डारी

मनमोहन अधिकारीको २६औं स्मृति दिवस 
-स्व.अधिकारी नेपाली राजनीतिका एक निष्कलङ्क, निष्ठावान् तथा प्रेरणादायी आदर्श नेता
-पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले)का शीर्ष नेताहरूबाट सम्मानपूर्वक श्रद्धासुमन अर्पण 
१३ वैशाख (२०८२), काठमाडौं । आज नेकपा (एमाले)का तत्कालीन अध्यक्ष, नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २६औं स्मृति दिवस ! 
नेपाली राजनीतिका एक निष्कलङ्क, निष्ठावान् तथा प्रेरणादायी आदर्श नेता स्व.अधिकारीप्रति उच्चसम्मान प्रकट गर्दै श्रद्धासुमन अर्पण गरियो । 
मनमोहन स्मृति प्रतिष्ठानद्वारा सानेपास्थित प्रतिष्ठानको परिसरमा आयोजित २६औं स्मृति दिवस कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले स्व. अधिकारीको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले स्व. अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम राख्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
पूर्व राष्ट्रपति भण्डारीले २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेकपा (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता र समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको स्मरण गर्नुहुँदै सरकार सञ्चालन गर्ने अवसर मिल्दा कम्युनिष्ट पार्टीले गर्ने लोककल्याणकारी कार्यहरूको दृष्टान्त प्रस्तुत गर्न समेत उक्त सरकार सफल भएको बताउनुभयो । 
स्व.अधिकारीजस्ता प्रगतिशील सोच, सङ्कल्प र व्यवहार भएका नेताबाट प्रेरणा लिई मुलुकको सामाजिक, आर्थिक रूपान्तरणका दिशामा हामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो– यसले एकातिर कम्युनिष्ट पार्टीले जनताको विश्वास जितिरहन आधार तयार पार्ने छ भने अर्कातिर जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्नसक्ने वातावरण निर्माण हुने छ । 
पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रवादी नेताका रूपमा सम्पूर्ण नेपालीको हृदयमा स्थापित स्व. अधिकारीलाई स्मृति दिवसका अवसरमा सम्झनु भनेको उहाँका सद्गुणहरू–इमान्दारी, जवाफदेहीपन, सादगी र सच्चा कम्युनिष्ट मूल्यहरूलाई आत्मसात् गर्नु हो भन्नुभयो । 
‘मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, अधिकार र खुल्ला वातावरण पाएका छौं’, पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो– स्व.अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताका लागि अनिवार्य रूपमा पढ्नैपर्ने  खुल्ला किताव जस्तै छ । 
नेपाल कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव, नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीप्रति श्रद्धासुमन अर्पण गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो– इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रालागि सधैँ  प्रातःस्मरणीय हुुनुहुन्छ र रहिरहनुहुने छ । 
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको श्रद्धाञ्जली वक्तव्य पढेर सुनाइएको थियो । 
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व. अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनका प्रेरणाका स्रोत भएको बताउनुभयो । 
स्व.अधिकारी आफ्नो निष्ठामा कहिल्यै खण्डित हुनुभएन, सरकारको नेतृत्व गर्दा समेत सादगीपनलाई कहिल्यै कमजोर हुन दिनुभएन भन्नुहुँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी प्रतिकूलताको अवस्थामा पनि आस्थामा अडिग रहनु भएका आदर्श नेता भएको बताउनुभयो । उहाँले भन्नुभयो– स्व.अधिकारी कम्युनिष्ट आन्दोलनका अभिभावक र शितल छहारी नै हुनुहुन्थ्यो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि हामी स्व. अधिकारीका आदर्शको अनुशरण गर्न चाहन्छौं भन्नुभयो ।  
नेकपा (एमाले) राष्ट्रियता, स्वाधीनता र जनताको हकहितको पक्षमा दृढतापूर्वक उभिँदै आएको र एमालेलाई यस भूमिकाबाट च्यूत गराउन चौतर्फी कोसिस भइरहेको अवस्थाको चर्चा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले आज हामी हाम्रो उद्देश्यमा समर्पित भएर लागिरहनुपर्ने जरूरी छ भन्नुभयो । 
प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा प्रदेशस्तरमा पनि प्रतिष्ठान स्थापना गरेर कामलाई अगाडि बढाइने बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका नेताहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य शान्ति अधिकारीले गर्नुभएको थियो भने प्रतिष्ठानका अर्का सदस्य जीवन घिमिरेले स्वागत गर्नुभएको थियो ।