detail-img

प्रधानमन्त्री ओलीको प्रश्नः मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

१४ वैशाख (२०८२), काठमाडौं  । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको  बताउनुभयो । 
देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उहाँले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताउनुभयो । 
‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– आजकाल नीलो रङ्गका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । हामी एमाले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ । 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गर्नुभयो । 
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उहाँले विश्लेषणात्मक चेत राख्न सुझाव दिनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन ।