detail-img

निरङ्कुश राजतन्त्रको सपना देख्नेहरूविरुद्ध मजदुर वर्ग एकताबद्धरूपमा लाग्नुपर्छः प्रधानमन्त्री

१८ वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक  र असहिष्णुु प्रवृत्ति बोक्नेहरू लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गर्नुभएको छ ।                 
१३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गर्नुभयो । 
‘फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको बताउँदै उहाँले उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगेमा के गर्लान् ? भन्ने प्रश्न उब्जिएको छ । उनीहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुुभयो– हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ । हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा आफैले गर्छौं । हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण  र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ्ग रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले ल्याएको विकासको अवधारणाले नै देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो । 
एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिब बीचको खाडल पुरिएको धारणा उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ, नेपाली जनतामा धनी गरिब बीचको खाडल पुर्ने कुरामा हामीले छोटो समयमा ठुलो उपलब्धि प्राप्त गरेका छौं । 
नेपालको अर्थतन्त्रको विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको बताउँदै उहाँले श्रमजीवी वर्गलाई सङ्गठित गर्ने र अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व गरेको भन्दै जिफन्टलाई धन्यवाद दिनुभयो । जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवी वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको महासचिव पोखरेलले सुनाउनुभयो । 
एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोच भन्दा फरक रहेको उहाँले स्पष्ट गर्नुभयो । एमालेको यो नीति भविष्यको लागि आधारशीला भएको महासचिव पोखरेलले बताउनुभयो । 
अहिले पनि देशमा सोचे जस्तो विकास हुन नसकेको भन्दै उहाँले रोजगारीको लागि युवा विदेश जाने कुरालाई रोकेर देशमा कृषिजन्य उत्पादनको क्षेत्रमा बढोत्तरी गर्नुपर्ने धारणा राख्नुभयो । 
महासचिव पोखरेलले आज प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिरहेका बताउँदै त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।