२१ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रम बिगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको केन्द्रीय सचिवालयको ४९औं बैठकले उक्त निष्कर्ष निकालेको हो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको पत्रकारहरूलाई जानकारी गराउँदै नीति तथा कार्यक्रमले दिशानिर्देश गरे अनुरुप बजेट अझ ठोस र परिमाणमुखी आओस् भन्नेमा जोड दिइएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो– मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिमाणमुखी होस् । विगतमा (चालु आर्थिकबर्षको बजेट) योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ । विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस् । सङ्घीय सरकारले राष्ट्रियस्तरका योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ ।
यसैगरी, नेताहरूले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ । कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरूको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा अगाडि बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उहाँले बताउनुभयो ।
बदलिँदो भूराजनीतिले गर्दा अन्तर्राष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरूले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन् थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको छ ।
उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सुशासन, भ्रष्टाचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।
बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थिरतालाई खलबल्याउने प्रयासहरू कमजोर हुँदै गएको निष्कर्ष पनि निकालेको छ ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो– मुलुक मुलतः नीतिगत स्थायित्व र राजनीतिक स्थायित्वको बाटोमा अघि बढिरहेको छ । यद्यपि, यो स्थिरतालाई खलबल्याउन विभिन्न शक्तिहरू क्रियाशील पनि भइरहेका छन् तर, उनीहरूको प्रयास कमजोर बन्दै गइरहेको र मुलुक राजनीतिक स्थायित्वको दिशामा बढ्दै गइरहेको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा पार्टीलाई आगामी निर्वाचनमा बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीको सम्पूर्ण ऊर्जा र सामर्थ्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको उहाँले बताउनुभयो ।