detail-img

एकीकृत समाजवादीका केन्द्रीय सदस्य खान एमालेमा 

२२ वैशाख (२०८२), काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका नेताहरू एमालेमा फर्कनु भएको छ । 
खानसँगै सो पार्टीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र बाग्मती प्रदेश सदस्य शैलेन्द्र राउत एमालेमा फर्कनु भएको हो ।  
उहाँहरूलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) ललितपुर जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला अध्यक्षलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो । 
महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उहाँहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।  देशको वर्तमान राजनीतिक अवस्थामा एमालेको भूमिका र आगामी कार्यदिशाबारे पनि उहाँले चर्चा गर्नुभयो ।
एमालेमा फर्कनु भएका नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँहरूले एमालेको नीति र विचारबाट प्रभावित भएर आफ्नै पुरानो पार्टीमा फर्किएको बताउनुभयो ।