detail-img

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सामर्थ्य युवामा मात्रः महासचिव पोखरेल

२५ वैशाख (२०८२), पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । 
राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउने बनाउने सामर्थ्य युवामा रहेको बताउनुभयो । नेकपा (एमाले)ले पार्टीका वडादेखि केन्द्रसम्मका कमिटीमा ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम गरेको उहाँले स्पष्ट गर्नुभयो । 
अबको पार्टी कामको दिशा युवाको बीचमा पार्टीलाई लैजाने भएको जानकारी गराउँदै महासचिव पोखरेलले देशका मतदाताको ठुलो हिस्सा युवा भएकाले युवाको बीचमा पार्टी जानुपर्ने हुँदा युवा परिचालनको विशेष योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले पार्टीको पक्षमा निष्ठाका साथ उभिन आग्रह गर्दै पार्टीमाथि चौतर्फी आक्रमण भएको बेला त्यसका विरुद्ध सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 
नेकपा (एमाले)लाई पटक पटक विभाजन प्रयास गरिएको तर  ती सबै समस्यासँग जुध्दै एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाइएको स्मरण गर्दै महासचिव पोखरेलले जनताको रोजाइको पहिलो पार्टी भए पनि एक्लै सरकार चलाउन सक्ने सामथ्र्य एमालेले जुटाउन नसकेको हुँदा २०८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउन आवश्यक रहेको बताउनुभयो । 
उहाँले अहिले दुईवटा ठूला पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले)  मिलेर मुलुकलाई सङ्कटबाट निकाल्ने प्रयास गरिरहेको र अहिले देश आर्थिक सञ्चिति र विकासको हिसाबले अघि बढेको भनाइ राख्नुभयो । 
भेलालाई पार्टीका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज राजिव पहारी, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे लगायतले सम्बोधन गर्नुभएको थियो । ‎