detail-img

‘कार्बन उत्सर्जन नियन्त्रणमा नेपालको भूमिका अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउनुपर्ने’

३१ वैशाख (२०८२), गते ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जलवायु परिवर्तनको असरप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर नदेखिएको बताउनुभएको छ । 
नेकपा (एमाले) विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘सगरमाथा संवादको स्थानीयकरणः जलवायु सशक्तीकरण र विपद् न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
नेपालजस्ता राष्ट्रहरूले कार्बन नियन्त्रणमा निर्वाह गरेको भूमिकाबारे आसन्न सगरमाथा संवाद कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्र्नेे उहाँको भनाइ छ ।
महासचिव पोखरेलले भन्नुभयो– अन्तर्राष्ट्रिय समुदाय जति यो विषयमा गम्भीर हुनुपर्ने हो, त्यति गम्भीर देखिएको छैन । भाषणमा त देखिन्छ तर उसले कार्बन उत्सर्जन गरेबापत त्यसबाट प्राप्त गरेको लाभ बापत, नेपालजस्ता राष्ट्रहरूले कार्बन नियन्त्रणमा पुर्याएको योगदानको मूल्य तिर्न तयार छन् कि छैनन् भन्दा व्यवहारमा अहिलेसम्म तयार छन् भन्ने  देखिएको छैन । 
उहाँले मौसम परिवर्तनका कारण हिमाली क्षेत्र सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो । हिमाली क्षेत्रका बस्ती, पूर्वाधार, सडक सञ्जाल, विपद्को पूर्वतयारी र विपद् जोखिमको दृष्टिकोणले जोखिममा रहेको महासचिव पोखरेलको भनाइ छ । 
जलवायु परिवर्तनको असर देशको कृषि प्रणालीमा पर्नुका साथै सामाजिक जीवन सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो । 
कार्बन नियन्त्रणका लागि हरियाली विकास गर्ने कुरामा नेपाल शतप्रतिशत सफल भए पनि वातावरण प्रदूषणबाट, कार्बन उत्सर्जनको असर व्यहोर्नबाट मुक्त नभएको बताउँदै महासचिव पोखरेलले वातावरण संरक्षण गरी नेपालले अन्तर्राष्ट्रिय समुदायमा समेत पुर्याएको योगदानको मूल्य पाउनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा सांसद ठाकुर गैरेले जलवायु परिवर्तन अहिले विश्वव्यापी समस्या भएको र कतिपय देशले विषयको गाम्भीर्यतालाई ध्यानमा राखेर जलवायु सम्बन्धी संसदीय समिति समेत बनाएको बताउँदै नेपालमा पनि संसदीय समिति हुनुपर्ने सुझाव दिन आग्रह गर्नुभयो । 
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट, विज्ञ प्राध्यापक लालु पौडेल, पूर्वमन्त्री डा. विमला पौडेल राई र विज्ञ सुशील ज्ञवालीले जलवायु परिवर्तन, यसका असर, विपद व्यवस्थापन लगायत विषयमा आ–आफ्ना अनुभव र अध्ययनसहितका भनाइ राख्नुभएको थियो । 
नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख खिमलाल भट्टराईले कार्यक्रमको अध्यक्षता र स्वागत गर्दै सरकारले सगरमाथा संवादको महत्वपूर्ण कार्यक्रम गर्न गइरहेको सन्दर्भमा पार्टीका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभाव र समाधानका उपायका बारेमा सुझाव दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसद, युवा, विद्यार्थी र स्वयंसेवक भूमिकामा काम गर्दै आएका पार्टीका जनसङ्गठन र सम्पर्क कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो ।  कार्यक्रमको सञ्चालन विभाग सचिव अब्दुस मियाले गर्नुभएको थियो भने विभाग सदस्य राजेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।