detail-img

एनआरएनलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

३१ वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन)लाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखापर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।
‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले काम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति, परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरू विचलित हुनुहुँदैन । यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।
उहाँले एनआरएनको वर्तमान अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।