detail-img

अर्थ व्यवस्था अगाडि बढाउने सामर्थ्य र आत्मविश्वास जागृत गर्न महासचिवद्वारा निजी क्षेत्रलाई आग्रह

नेकपा (एमाले)द्वारा निजी क्षेत्रसँग पूर्वबजेट अन्तरक्रिया
१ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार अर्थ व्यवस्था सुधारका लागि प्रतिबद्ध रहेकाले त्यसका लागि निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ । 
वर्तमान आर्थिक अवस्था र आगामी बजेट सन्दर्भमा उद्योगी व्यवसायीसँग बुधबार गरिएको अन्तरक्रियामा महासचिव पोखरेलले अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक हुँदा हुँदै पनि उद्योगी–व्यवसायीको मनोबल सोचेअनुसार नबढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 
मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक सुधार वर्तमान सरकारको उद्देश्य रहेको र सरकारले सिथिल बनेको अर्थतन्त्रलाई माथि उठाउने प्रयास स्वरूप अध्यादेश जारी गरेको स्मरण गराउँदै उहाँले  सरकार आर्थिक सुधारको बाटोमा निजी क्षेत्रसँग सहकार्यका साथ अगाडि बढ्न तयार रहेको स्पष्ट गर्नुभयो । 
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा आयात–निर्यात व्यापार बृद्धि, भन्सार सूचक र शोधनान्तर स्थिति सकारात्मक, वैदेशिक मुद्रा सञ्चिति इतिहासकै उच्च रहेको, मौद्रिक तरलता राष्ट्र बैङ्कले खिच्नुपर्ने अवस्था भएको र अर्कोबर्षको आर्थिक बृद्धि ७.६ प्रतिशत प्रक्षेपण गरिएको जस्ता तथ्याङ्कहरूतर्फ निजी क्षेत्रको ध्यानाकर्षण गराउँदै महासचिव पोखरेलले प्रश्न गर्नुभयो– कोभिडको समयमा आर्थिक बृद्धिदर तीन प्रतिशतमा झर्दा पनि नगिरेका निजी क्षेत्रको मनोबल अहिले किन बढिरहेको छैन ? यो निराशा मनोवैज्ञानिक मात्र हो कि ?
उहाँले निजी क्षेत्रलाई अर्थ व्यवस्था अगाडि बढाउने सामर्थ्य र आत्मविश्वास जागृत गर्न आग्रह गर्नुभयो । 
राज्य र निजी क्षेत्र अन्तर सम्बन्धित रहेका र राज्य कमजोर हुँदा निजी क्षेत्र पनि कमजोर हुने बताउँदै महासचिव पोखरेलले औपचारिक अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 
‘निजी क्षेत्रसँग भएको यस जीवन्त छलफलमा तपाईंहरूको प्रस्तुतिबाट हरेक क्षेत्र कुनै न कुनै कुराबाट प्रताडित छ भन्ने देखाउँछ’, उहाँले विकासमा बाधा पुर्याइरहेका लगायत अव्यवहारिक कानुन सुधार गर्ने प्रयत्न सरकारबाट भइरहेको जानकारी गराउनुभयो ।
महासचिव पोखरेलले देश बनाउन विदेशी लगानी भित्र्याउनैपर्ने धारणा राख्दै बाह्य लगानी भित्र्याउने कुरामा निजी क्षेत्र उत्साहित हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको अघिल्लो कार्यकालमा मुलुक आर्थिक विकासका दृष्टिले धेरै अगाडि बढेको तर उहाँलाई सरकारबाट हटाइएपछि अर्थतन्त्रमा गम्भीर सिथिलता आएको स्मरण गर्दै अहिले फेरि लयको बाटो समातेको महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले राष्ट्र निर्माणका सन्दर्भमा भ्रष्टाचार मात्र नभई प्रशासनिक क्षेत्रबाट काममा विलम्ब हुने ठूलो समस्या रहेको हुँदा प्रवृत्तिमै सुधार आवश्यक रहेको धारणा राख्नुभयो । 
महासचिव पोखरेलले त्यसका लागि राज्य बलियो हुनु आवश्यक रहेको र दल बलियो नभई राज्य बलियो नहुने हुँदा निजी क्षेत्र पनि राष्ट्रिय पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एकभएर लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।  
कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारबाट अर्थतन्त्रमा सुधार ल्याउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले ऐन सुधारका काम गरेको र मन्त्रालयबाट पनि लगानी सहजीकरणका काम भएको बताउनुभयो । उहाँले उद्योगहरूलाई प्रबद्र्धन गर्न सरकार सरकार प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक– निजी साझेदारीमा सातै प्रदेशमा औद्योगिक क्षेत्र विकास गर्नु आवशयक रहेकोमा जोड दिनुभयो ।  
नेकपा (एमाले) केन्द्रीय कार्यालयद्वारा आयोजित कार्यक्रममा कार्यालय सचिव डा.भीष्म अधिकारीले मुलुकको समुन्नत अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको योगदान सकारात्मक रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई पनि पूर्वाधार विकासका क्षेत्रमा लगानीको बाटो खोलिदिएको बताउनुभयो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुजिता शाक्य र केन्द्रीय सदस्य तथा उद्योग विभाग प्रमुख मोती दुगड अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व गर्नुभएका नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले गाउँ तथा पहाडबाट बसाइँसराइ रोक्न गाउँमा उद्योग व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने वातावरण बन्नुपर्ने बताउनुभयो ।

निजी क्षेत्रको  अपेक्षाः परिणामुखी बजेट 
निजी क्षेत्रका उद्योगी तथा व्यवसायी अगुवाहरूले सरकारको नेतृत्व गरिरहेको अभिभावक दल नेकपा (एमाले) पूर्व बजेट अन्तरक्रिया गर्नु स्वागतयोग्य भएको बताउँदै परिणाममुखी बजेट ल्याउन सुझाव दिनुभएको छ । उहाँहरूले समृृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने गरी दीर्घकालीन महत्व र विशेषताका कार्यक्रमहरूलाई जोड दिन आग्रह पनि गर्नुभयो । 
आर्थिक उन्नतिका लागि बाधक कानुनहरू परिवर्तन भइरहेका र बाँकी कानुनहरू पनि अनुकूल बनाउन जरूरी रहेको चर्चा गर्दै उहाँहरूले लगानी र रोजगारी सिर्जनाका लागि सुयोग्य वातावरण बनाउन जरूरी रहेको बताउनुभयो । 
उहाँहरूले करको दरको सट्टा दायरा बढाउन, निजी क्षेत्रको मनोबल बढाउन, भएका खनिज पदार्थको सदुपयोग गर्न, उद्योग सञ्चालनमा हदबन्दी हटाउन, साना तथा मझौला उद्योगहरूको संरक्षण गर्न, आन्तरिक पर्यटनमा जोड दिन, नीति र कानुनमा एकरूपता ल्याउन, बाँझो जमीन राख्न नदिने नीति ल्याउन, यो दशकलाई लगानी दशक घोषणा गर्न, बिभिन्न खानी उद्योगहरू सञ्चालनमा ल्याउन विशेष आग्रह गर्दै आगामी बजेट वितरणमुखीको सट्टा परिणामुखी हुने अपेक्षा पनि गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षहरू चण्डीराज ढकाल, सीएनआईका पदाधिकारीहरू कमलेश अग्रवाल, वीरेन्द्र पाण्डे, सिएनआईका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उद्योगी, व्यवसायीहरू दीपक मलहोत्रा, दिनेश श्रेष्ठ, गुरु न्यौपाने, राजेन्द्र मल्ल, दीपक  कुँवर, सागर पाण्डे, विजयबहादुर स्वाँर, सूर्य कँडेल  लगायतले बजेट निर्माणका सन्दर्भमा सुझाव राख्नुभएको थियो ।