१ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको माध्यमबाट अहिले समाजका हरेक मान्छे विचारक र पत्रकार जस्ता बनेको बताउनुभएको छ ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२औँ केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई बिहीबार भक्तपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालले गर्दा मानिस सामाजिकबाट व्यक्ति केन्द्रित बनेका बताउनुभयो । यसले सामाजिक अराजकतातर्फ समाज अघि बढेको उहाँको भनाइ छ ।
यो समाजका लागि सबैभन्दा चुनौतीको कारण बनेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– कसैका लागि त्यही चिज समृद्धिको आधार बनेको छ तर हाम्रो लागि त्यो सामाजिक अराजकताको कारण बन्दै गएको छ ।
सूचना प्रविधिको सही प्रयोगको हुटहुटी जाग्ने हो भने साना देशका नागरिकले पनि धेरै काम गर्न सक्ने उहाँले बताउनुभयो । अहिलेको युगमा जोसँग सिर्जनात्मक ज्ञान छ उही सबैभन्दा धनी हुने बताउनुभयो । धनबाट होइन सूचना र प्रविधिबाट नै मानिसले आफ्नो सामर्थ्य निर्माण गर्न सक्ने धारणा उहाँले राख्नु भयो ।
समाज धेरै अघि बढिसकेको भए पनि पूर्वपञ्च, मण्डले र नवमण्डलेहरूले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका र उनीहरूले विकासको तथ्यलाई नै ओझेल पार्ने प्रयास गरेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले पञ्चायत र बहुदल पछिको विकासको तथ्याङ्क सुनाउनुभयो ।
सूचना र प्रविधिको दुरुपयोग गर्ने काम भइरहेको भन्दै उहाँले त्यसलाई निस्तेज पार्नुपर्ने बताउनुभयो । ‘राष्ट्रलाई कमजोर पार्ने विषयलाई भाइरल बनाउने काम कहाँबाट भइरहेको छ भन्ने कुराको अनुसन्धान गर्नुपर्छ, नियोजित ढङ्गले भाइरल बनाउने सूचनालाई नियन्त्रण गर्न सक्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
यो कुराबाट मुलुकलाई जोगाउन सूचना प्रविधिको क्षेत्रका काम गर्ने संस्थाले भूमिका खेल्नुपर्ने अन्यथा मुलुक कमजोर हुने उहाँले स्पष्ट पार्नुभयो । सामाजिक मूल्य मान्यतालाई जोगाउन सूचना प्रदायक संस्थाले आफ्नो सामर्थ्य देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गलत प्रवृत्तिबाट राष्ट्रलाई जोगाउँदा मात्र राष्ट्र बलियो हुने बताउँदै महासचिव पोखरेलले सामाजिक मूल्य र मान्यतालाई कमजोर बनाएर कुनै पनि हालतमा देश बलियो नहुने धारणा राख्नुभयो ।
नेपालमा राजनीतिलाई विकृत बनाउने र साना दलले ठूला दलमाथि शासन गर्ने प्रवृत्तिको अन्त्यको लागि दुई ठूला राजनीतिक दल मिलेको र नीतिगत नेतृत्वको आधारमा नै देशलाई अघि बढाउनुपर्छ भन्ने कुरामा नेकपा (एमाले) स्पष्ट रहेको उहाँले बताउनुभयो ।
राष्ट्रलाई सही दिशा दिन दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थिरता जरूरी रहेको बताउँदै महासचिव पोखरेलले त्यो सामर्थ्य एमाले बाहेक अरू कुनै राजनीतिक दलसँग नरहेको दाबी गर्नुभयो । एमालेलाई बाहिर राखेर राष्ट्र निर्माण सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
देश जब स्थायित्वतर्फ अघि बढ्न खोज्छ तब नेपाली समाजमा भ्रम सिर्जना गर्न खोजिने गरेको र पछिल्ला दिनमा पुरानाले गर्न सकेनन् अब नयाँ चाहिन्छ भनेर भ्रम फिँजाउने काम भएको महासचिव पोखरेलले भन्नुभयो ।
अहिले खराब मानिसहरूको नियन्त्रणमा सूचना महामार्ग पुगेको र यदि उनीहरूको कब्जाबाट यसलाई मुक्त बनाउन सकिएन भने नयाँ पुस्ता अराजक र उद्देश्यविहीन बन्ने उहाँको भनाइ छ । ‘असल मानिसको हातमा सेवा पुर्याउन सकिएन भने त्यसबाट गलत समाज निर्माण हुन्छ, गलत समाज निर्माण हुनबाट हामीले जोगाउनु पर्दछ’, उहाँले भन्नुभयो ।