detail-img

वर्तमान सत्ता साझेदारी २०८४ को निर्वाचनसम्मः बरिष्ठ उपाध्यक्ष पोखरेल

उपमहासचिव गुरुङ लगायत १४ जना नेताहरू सम्मानित

४ जेठ (२०८२), लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ । 
आज लमजुङको बेँसीसहरमा नेकपा (एमाले) लमजुङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो । कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ ।
उहाँले सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको भन्दै यस्तो कुनै समस्या नरहेको बताउनुभयो ।  
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– यसअघि पनि पटक/पटक विभिन्न कालखण्डमा कांग्रेस—एमाले मिलेर अघि बढ्दै देशलाई सङ्कटबाट जोगाउने काम गरेका छौँ । यसपटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एकठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ । 
नेकपा (एमाले)मा निरन्तर क्रियाशील हुने र धैर्य गर्न सक्ने क्षमता भएका  व्यक्ति मात्रै टिक्ने भन्दै उहाँले अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चहार्दै हिँड्ने धारणा राख्नुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई  निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो । 
समापन समारोहमा नेकपा (एमाले)का उपमहासचिव, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सम्मानित हुनुभएको छ ।
बरिष्ठ उपाध्यक्ष पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले उपमहासचिव गुरुङ लगायत १४ जना नेताहरूलाई खादा र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।
सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादउन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । 
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मुलुक समृद्ध बन्नका लागि राजनीतिक स्थायित्व जरूरी रहेको बताउनुभयो । 
उहाँले मुलुकको विकासका लागि एमालेले सरकारमा रहेर काम गरिरहे पनि गलत प्रचार गरी एमालेमाथि प्रहार भइरहेको बताउनुभयो । 
उपमहासचिव गुरुङले पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने गरी काम गर्न समेत आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, प्रदेश कमिटी सचिव धनञ्जय दवाडीलगायतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।