६ जेठ (२०८२), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको बताउनुभएको छ ।
४१औं नेत्रलाल पौडेल ‘अभागी’ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभई जनताका विरूद्व भएको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो– हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?
राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउँदै महासचिव पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गर्नुभयो ।
राजावादीले जनतालाई निरङ्कुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ताविरूद्व प्रहार गरिरहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने बताउँदै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने धारणा राख्नुभयो । विदेश जानु केहिको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेको हुँदा युवा विदेश पलायनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने उहाँले बताउनुभयो ।