detail-img

प्रतिगमनको कुचेष्ठालाई धुलोपिठो बनाइन्छः प्रधानमन्त्री तथा अध्यक्ष ओली

राष्ट्रिय युवा संघ, नेपालको १०औं राष्ट्रिय महाधिवेशन 
९ जेठ (२०८२), पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गर्नुभयो । 
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको बताउँदै उहाँले भन्नुभयो– पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।
‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलोपिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु’, अध्यक्ष ओलीले भन्नुभयो– एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूले केन्द्रिकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।
अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरूलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीति थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका  लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गर्नुभयो ।
आफूहरू भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
राष्ट्रिय युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्वाचित गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेकको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

सत्ताबाट बाहिरिनुपर्दाको पीडा र कुण्ठा एमालेविरूद्ध आक्रमण  
उद्घाटन समारोहमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनु परेकाहरू एमालेविरुद्ध आक्रमणमा उत्रिएको बताउनुभयो ।  
हिजो एमालेसँग मिलेर सत्तामा गएकाहरू आज सत्ताबाट हट्नुपर्दा एमालेविरुद्ध विष बमन गरिरहेको उहाँले बताउनुभयो । 
‘हाम्रो पार्टी र हाम्रो पार्टीनेतृत्वका विरुद्धमा माओवादी र तिनका कार्यकर्ता सबैभन्दा बढी आक्रामक रूपमा प्रस्तुत भएका छन्’, महासचिव पोखरेलले भन्नुभयो । 
एमालेले कुनै गलत काम गरेको कारण नभई माओवादी सत्ताबाट हट्नु परेको कारण एमालेको विरुद्ध आक्रमणमा उत्रिएको उहाँको भनाइ छ । 
एमाले सरकारमा रहँदा देशले विकास र समृद्धिको गति लिने महासचिव पोखरेलले बताउनुभयो । एमाले सरकारबाट हट्ने बित्तिकै मुलुकको अर्थव्यवस्था ओरालो लाग्ने गरेको उहाँले सुनाउनुभयो । 
एमाले सरकारबाट हटेपछि विकास ठप्प भएको तथा निर्माण व्यवसायीले समेत रकम भुक्तानी पाउन छाडेपछि एमाले र कांग्रेस मिलेर सात बुँदे सहमति गरेर सरकार गठन गरेको भन्दै  दुई ठुला दलको सरकार बनेपछि देशमा आर्थिक र अन्य विकासले गति लिएको उहाँले बताउनुभयो । 
‘सत्ताबाट बाहिरिएकाले सरकारको सफल नेतृत्व गरिरहेको पार्टी र नेतृत्वमाथि प्रहार गरिरहेका छन्, यो सत्ताबाट हट्नुपर्दाको कुण्ठा हो पीडा हो भन्ने हामीले बुझ्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो । 
१५ महिना अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा धाउने रास्वपाका नेता कार्यकर्ताहरू अहिले एमालेको सबैभन्दा विरोधी भएको उहाँले बताउनुभयो । आफ्नै कर्मका कारण सो पार्टीका सभापति रवि लामिछाने जेल परेपछि रास्वपाका कार्यकर्ताहरू पनि एमाले विरुद्ध खनिएको महासचिव पोखरेलको भनाइ छ । 
त्यस्तै एमाले रहँदासम्म राजतन्त्र फर्काउन नसकिने अवस्था देखेपछि अहिले राप्रपा एमालेको विरुद्ध प्रहार गर्न लागेको र एमाले सही बाटोमा हिँडेकै कारण एमालेमाथि प्रहार भइरहेको उहाँको धारणा छ ।
एमालेमाथिको प्रहार नेपाल र नेपाली जनताको भविष्य माथिको प्रहार भएको स्पष्ट पार्नुहुँदै महासचिव पोखरेलले मुलुकलाई सही बाटोमा डोर्याउने पार्टी एमाले भएकाले यसलाई सबै मिलेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 
देश विकासको गतिमा अघि बढेकाले अहिले युवापङ्ती प्रभावित हुनुपर्ने वा उद्वेलित हुनुपर्ने कुनै आवश्यकता नरहेको उहाँले बताउनुभयो । 
देश विकासको काम एमालेले गर्छ भन्ने कुराको दृष्टान्त एमालले प्रस्तुत गरेको सुनाउँदै महासचिव पोखरेलले हिजो सुरुङ र रेलको विरोध गर्नेहरू आज तिनै साधन स्रोत प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभयो । उद्घाटन समारोहमा नेकपा (एमाले)का  उपमहासचिव एवं सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीब पहारी, निरुदेवी पाल, किरण पौडेललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।