९ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले) मुगु जिल्ला कमिटीले पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन प्रशिक्षकहरू उत्पादन गरेको छ ।
नेकपा (एमाले) मुगु जिल्ला कमिटीको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा नेताहरूलाई प्रशिक्षण दिइएको छ । उहाँहरूले अब गाउँ गाउँमा गएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुहुने छ ।
प्रशिक्षण कार्यक्रममा पार्टी उपमहासचिव ज्ञवालीले पार्टीको दशौं महाधिवेशनको कार्यदिशाः समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र पार्टीको भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी पार्टी स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले सङ्गठन निर्माण, परिचालन र व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो । स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले राजनीतिक दलको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले अन्य दल र नेकपा (एमाले) बीचको भिन्नताबारे प्रकाश पार्नुभएको थियो ।
यसैगरी घनश्याम कोइराला, सुन्दर लामिछाने, गेहेन्द्र दाहाल लगायत विषय विज्ञहरूले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । मुगु जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहासका बारेमा मोहन वानियाँ र मुगुको विकासमा एमालेको भूमिका विषयमा टेकनाथ पछाईंले प्रशिक्षण दिनुभएको थियो ।
जिल्लाको विकासमा पहल गरिदिन आग्रह
यसैबीच प्रशिक्षण कार्यक्रमका लागि मुगुमा रहनुभएका उपमहासचिव ज्ञवालीलाई मुगुका राजनीतिक दलहरूले जिल्लाको विकासका लागि विभिन्न योजनासहितको संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरूले जिल्लाको विकासमा रणनीतिक महत्व राख्ने चारवटा सडक निर्माणका लागि बजेट विनियोजनको पहल गरिदिन माग गरेका हुन् ।
गमगढी–नाक्चेलाग्ना सडक निर्माण र चीनतर्फको नाका खोल्नका लागि पहल गरिदिन उनीहरूले बुझाएको ज्ञापनपत्रमा अनुरोध गरिएको छ । यसैगरी मुगुको पर्यटन विकासको आधारको रूपमा रारा तालको संरक्षण र प्रवद्र्धनका लागि रारा पर्यटन विकास प्राधिकरण गठनको पहल लिइदिन पनि अनुरोध गरिएको छ ।
यस्तै, रामगढी–भुलभुले सडक खण्ड कालोपत्रे गर्न बजेट विनियोजनको पहल लिइदिन र जुम्लामा रहेका सङ्घीय सरकार अन्तर्गतका कार्यालय मुगुमा सारिदिन पनि उनीहरूले माग गरेका छन् ।
मुगुका राजनीतिक दलका तर्फबाट नेकपा (एमाले)का अध्यक्ष पूर्णबहादुर रोकाया, नेपाली कांग्रेसका सभापति कर्णबहादुर रावल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सन्तोष कुमार मल्ल, राप्रपाका अध्यक्ष राजबहादुर मल्ल, नेकपा (एस)का उपाध्यक्ष वीरेन्द्र बहादुर मल्लले ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा उपमहासचिव ज्ञवालीले आफू कर्णालीको विकासका लागि सधै सकारात्मक रहेको बताउनुभयो । मुगुवासीहरूले उठाएका विकास निर्माणका सवालहरू प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू समक्ष पुर्याउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।