११ जेठ (२०८२), ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
बाग्मती प्रदेशमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गर्नुभयो ।
‘तपाईंहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईंहरूले अहिले पार्टीका नीति, निर्देशनहरूलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्दा नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ ।
प्रधानमन्त्री ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देश बनाउन नदिने देशी विदेशीहरूको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण हो भन्नुभयो ।
‘उनीहरू खासमा कम्युनिष्ट थिएनन् । उनीहरूले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन्’, अध्यक्ष ओलीले भन्नुभयो– कम्बोडियामा मेरो रु. ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनाल हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरूपमा चलाउन सकेनन् । पछिसम्म पार्टी चाहीँ कब्जामा लिएर बस्न खोजे । हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरूलाई चित्त बुझेन, अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी विदेशी प्रक्रियावादीहरूले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतालाई पनि बुझाउनुपर्छ ।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न नहुनेमा जोड दिँदै उहाँले लाज नमानीकन रैती हुन पाउँ भन्नेहरूले जनतामा फैलाउने भ्रम चिर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी गर्न पनि निर्देशन दिनुभयो ।
अहिले भ्रष्टाचारीहरू र सहकारीको पैसा ठग्नेहरूले उल्टै भ्रष्टाचारको विरोध र सहकारी पीडितलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)ले २०६४ सालमा आफ्ना लडाकू मार्चपास गराएर जनतालाई तर्साएर, आतङ्कको राज गरेकाले त्यसबेला आफूहरू पराजित भए पनि अब माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गर्नुभयो ।
‘माओवादीको आतङ्कको छायाँमा हामीले २०६४ सालको निर्वाचनमा हारेको हो । अब न २०६४ साल आउँछ, न माओवादी आउँछ । यो मुलुकमा एमाले नै मजबुत पार्टी हो । एमालेहरूले आफ्नो यो पहिचान चिन्नुपर्यो । हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामथ्र्य छ । त्यसकारण एकापसमा अलमलमा नपरी र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ । पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ का लागि जुटौँ ।
प्रशिक्षणको उद्घाटन सत्रमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले बाग्मती प्रदेशमा पार्टीलाई पुरानो अवस्थामा फर्काउन जनप्रतिनिधिहरूको ठूलो जिम्मेवारी रहेको बताउनुभयो ।
विगतका हरेक निर्वाचनमा नेकपा (एमाले)को वर्चश्व रहने गरेको बाग्मती प्रदेशमा गत २०७९ को निर्वाचन परिणाम लाजमर्दाे रहेको भन्दै डा. भट्टराईले उक्त निर्वाचन परिणाम परिवर्तन गर्नुपर्ने हुँदा पार्टीलाई बलियो बनाई मिसन–२०८४ सफल बनाउन एकमना एकताका साथ अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले जनप्रतिनिधिहरू(वडाध्यक्ष)लाई स्थानीय पार्टी कमिटीसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो । इन्चार्ज डा. भट्टराईले वडामा योजनाबद्ध रूपमा काम गर्न सक्नुहोस् भन्ने उद्देश्य राखेर प्रशिक्षण आयोजना गरिएको स्पष्ट गर्नुभयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्नुभएका नेकपा (एमाले)का बाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले मिसन–२०८४ मा २०७९ को चुनावको सावाँ–ब्याज फिर्ता लिनुपर्ने भएकाले त्यसै लक्ष्यका साथ जनताको बीचमा जान आग्रह गर्नुभयो ।
अध्यक्ष ढुङ्गेलले वडाध्यक्ष जनताको दैनिक जीवनसँग जोडिएर काम गर्ने जनप्रतिनिधि भएकाले वडाका जनप्रतिनिधिले गरेका कामले सिङ्गो पार्टी र व्यवस्थाका बारेमा सकारात्मक सन्देश दिने धारणा राख्नुभयो ।
देशमा केही भएको छैन, सबैतिर अँध्यारै अँध्यारो छ भन्ने भ्रामक प्रचार गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ढुङ्गेलले आज वडासम्म पुग्ने सडक, विद्युत्, खानेपानी, स्वास्थ्य पूर्वाधार हरेक क्षेत्रमा नेपालले विकास गरेको र त्यसको अगुवाइ नेकपा एमालेले गरेको बताउनुभयो ।
अब सुशासनको क्षेत्रमा बढी ध्यान दिन पनि उहाँले वडाध्यक्षहरूलाई आग्रह गर्नुभयो । निर्णयमा सहभागिता, पारदर्शिता, जबाफदेहिता र जिम्मेवारीमा ध्यान दिन अध्यक्ष ढुङ्गेलले वडाध्यक्षहरूलाई सुझाव दिनुभयो ।
बाग्मती प्रदेशका ११२१ वडामध्ये २०७९ को निर्वाचनमा ३५९ वडामा नेकपा (एमाले) विजयी भएको थियो । ३०० अधिकांश वडाध्यक्षहरूको सहभागिता रहेको दुईदिने प्रशिक्षणमा विभिन्न विषय विज्ञहरूले प्रशिक्षण दिनुहुने छ ।
आज लगानी वोर्डका अध्यक्ष सुशील ज्ञवालीले स्थानीय तहको विकास योजना र लगानी परिचालन विषयमा, विमल पोखरेलले स्थानीय तहमा सुशासन र सेवा प्रवाह र ओम थपलियाले स्थानीय तहसँग सम्बन्धित कानुनी व्यवस्था विषयमा प्रशिक्षण दिनुभयो । प्रशिक्षणको दोस्रो दिन भोलि पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ भने स्थानीय तहमा प्रविधिको उपयोग र महत्व विषयमा विज्ञ अस्गर अलीले प्रशिक्षण दिनुहुने छ ।