detail-img

जनताका आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिन महासचिवद्वारा वडाध्यक्षहरूलाई निर्देशन 

१२ जेठ (२०८२), काठमाडौं  । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनप्रतिनिधिले जनताका साना–साना आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले)बाट निर्वाचित बाग्मती प्रदेशका वडाध्यक्षको भेलालाई सोमबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले जनप्रतिनिधि जनताको जीवनसँग जोडिनुपर्ने बताउनुभयो । 
जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा जनप्रतिनिधिको ध्यान केन्द्रित हुनुपर्ने उहाँको धारणा छ । 
महासचिव पोखरेलले वडाले गर्ने काम दैनिक जनताले देख्ने काम हुनुपर्ने बताउनुभयो । धेरै खर्च पनि नलाग्ने तर हरेक दिन जनताले याद गर्ने रचनात्मक काम वडाका जनप्रतिनिधिले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जरा केन्द्रित अभियानको नेतृत्व वडाका जनप्रतिनिधिले गर्न सक्ने र यसले मिसन–२०८४ को लागि बलियो आधार तयार गर्ने महासचिव पोखरेलको धारणा छ । 
आज समाजमा राजावादी, पूर्वपञ्च र मण्डलेहरू जुर्मुराएर उठ्न प्रयास गरिरहेको बताउँदै उनीहरूका गतिविधि जनताका अधिकारविरुद्ध छन् भन्ने कुरा जनतालाई बुझाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
राजतन्त्रको पालामा नेपाली जनताले भोगेको दुःखकष्ट थाहा नभएको नयाँ पुस्ता अहिले केही बरालिएको हुँदा उनीहरूलाई पनि राजतन्त्रले दिएको दुःख सास्ती बताउनुपर्ने महासचिव पोखरेलको भनाइ छ ।  
पूर्वपञ्च र मण्डलेहरूले ठूलो पैसा खर्च गरेर गणतन्त्रका विरुद्ध सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका चर्चा गर्दै उहाँले भन्नुभयो– गणतन्त्रले के दियो ? , लोकतन्त्रले के दियो ? भनेर मण्डलेहरूले प्रश्न गर्दा पनि हामीले मुखभरिको जवाफ दिन सकेका छैनौँ । 
नेकपा (एमाले)लाई जनताले सबैभन्दा नजिकबाट नियालिरहेकाले त्यही अनुसार काम गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । एमालेको नीति राष्ट्रको नीति बनाउने गरी लाग्न उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जनप्रतिनिधि कस्तो हुनुपर्दछ ? एमालेका जस्तो भन्ने सन्देश दिनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । 
आफूले गरेको काम पनि देखाउन नसक्ने एमालेको कमजोरी रहेको बताउँदै काम गर्नु जति महत्वपूर्ण छ, गरेको काम देखाउनु पनि त्यतिकै महत्वपूर्ण हुने उहाँको धारणा छ । 
नेकपा (एमाले) र एमाले नेतृत्वमाथि भइरहेका नकारात्मक प्रचारलाई चिर्न बढीभन्दा बढी काम गर्न र त्यसको प्रचार गर्न आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । असल कामको प्रचार सामाजिक सञ्जालमा जति धेरै गर्न सकिन्छ खराब मान्छेहरूको प्रभाव सामाजिक सञ्जाल र आमसञ्चारमा घट्दै जाने उहाँको धारणा छ । यसले आफ्ना काम र पार्टीलाई बलियो बनाउने महासचिव पोखरेलले बताउनुभयो । 
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीद्वारा आयोजित दुई दिने प्रशिक्षण आज सकिएको छ ।