detail-img

गणतन्त्र विशेष उत्सवको तयारी सन्दर्भमा उपत्यका विशेष प्रदेशको भेला सम्पन्न 

१२ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)ले जेठ १५ गते गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउन भृकुटीमण्डपमा आयोजना गर्ने कार्यक्रममा उपत्यका बिशेष प्रदेश कमिटीले झाँकीसहित तीन हजार मानिसको सहभागिता गराउने योजना बनाएको छ । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा आज आयोजित विस्तारित भेलाले यस्तो निर्णय गरेको हो । 
उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत चार जिल्ला कमिटी र ती जिल्ला कमिटी अन्तर्गत दर्जनौं इलाका कमिटी रहेका हुँदा मजदुर, विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरू, उद्योेगी व्यवसायी र युवा विद्यार्थीहरू आ–आफ्ना विशेष जिल्ला कमिटी र इलाका कमिटीहरूबाट ब्यानर र झाँकीसहित सहभागी हुनेगरी तयारी अगाडि बढाइएको जानकारी दिइएको छ । 
आजको भेलामा उपत्यका विशेषबाट गणतन्त्र विशेष उत्सवमा जनसहभागिताका लागि संयोजनको जिम्मेवारी पाउनुभएका पार्टीका सचिव योगेश भट्टराईले यो बर्ष प्रतिगामीहरूलाई निस्तेज गर्न जरूरी भएकाले गणतन्त्र दिवसलाई उत्सवका रूपमा अझ हर्षोल्लास र उमङ्गका साथ मनाउन लागिएको बताउनुभयो । 
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा विशेष प्रदेश इन्चार्ज सुजिता शाक्यले वीर शहिदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास एमाले पङ्क्तिको जिम्मेवारी रहेको र यस बिरुद्ध हुने कुनै पनि गतिविधिको  दह्रो जवाफ दिनेगरी बिशेष क्षेत्रले गणतन्त्र दिवसमा सहभागिता जनाउने बताउनुभयो । 
भेलाको सञ्चालन प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले गर्नुभएको थियो । भेलामा बिशेष प्रदेश अन्तर्गतका विभिन्न कमिटीहरूबाट १६५ जना  अगुवा कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।