detail-img

गणतन्त्र विशेष उत्सव कसैको विरोधमा लक्षित छैनः महासचिव पोखरेल

१३ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेठ १५ गते पार्टीले आयोजना गर्न लागेको विशेष उत्सव कसैको विरोधमा लक्षित नभएको स्पष्ट गर्नुभएको छ । 
गणतन्त्र विशेष उत्सव कार्यक्रमको तयारीका सन्दर्भमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित पार्टीका केन्द्रीय विभागहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गणतन्त्र दिवस जनताको विजयको दिन भएकाले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताउनुभयो । 
गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उच्चतम उपलब्धि भएको हुँदा देशभर पालिकास्तरमा र उपत्यकामा विभिन्न साँस्कृतिक झाँकी र बाजागाजासहित एकीकृत कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताविरुद्धका गतिविधि हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानका रूपमा पनि जेठ १५ लाई उत्सवका रूपमा मनाउन लागेको स्पष्ट गर्नुभयो ।  
गणतन्त्र प्राप्तिपछि केही भएको छैन भन्ने भ्रम सिर्जना गर्ने दुष्प्रयास भइरहेकाले त्यसलाई चिर्न र जनतालाई आज हाम्रो विजयको दिन हो भन्ने अनुभूति गराउन पनि विशेष उत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । 
अहिले विभिन्न कारणले नेपाली समाजमा देखिएको असन्तुष्टीको विकल्प विगतको निरङ्कुश व्यवस्था हुन नसक्ने बताउँदै महासचिव पोखरेलले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, साँस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रका उपलब्धिबारे आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । 
निरङ्कुश शासन व्यवस्था नभोगेका नयाँ पुस्तालाई गणतन्त्र प्राप्तिका लागि भएको छ दशक लामो बलिदानीपूर्ण सङ्घर्षबारे सुसूचित गराउनुपर्नेतर्फ ध्यान नपुगेका कारण उनीहरूमा भ्रम सिर्जना गर्ने दुष्प्रयास भइरहेकाले विद्यालय शिक्षामै गणतन्त्र र यस्को उपलब्धिबारे पढाउनुपर्ने आवश्यकता महसुस भइरहेको भनाइ उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाले गर्दा गणतन्त्र दिवस राज्य र नागरिक स्तरमा जुन उल्लासका साथ मनाउनुपर्ने थियो त्यसमा केही कमी रहेको हुँदा संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रूपमा गणतन्त्र दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । 
यतिबेला नेकपा (एमाले) र यसको नेतृत्वमाथि चौतर्फी हमला भइरहेको र यो हमला उपलब्धि, सफलता, सामथ्र्य र उज्यालो भविष्यमाथिको हमला हो भन्नुहुँदै उहाँले पार्टी र नेतृत्वमाथिको हमलाको सामना गर्न योजनावद्ध पहलकदमी लिनुपर्ने बताउनुभयो । 
अहिलेको चुनौतीलाई सामना गरेरै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिने महासचिव पोखरेलको विश्वास छ । 
बैठकमा विशेष उत्सवका लागि विभागहरूको संयोजनको जिम्मेवारीमा रहनुभएका सचिव छविलाल विश्वकर्माले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्र सामान्य उपलब्धि नभएको बताउँदै यसको रक्षा र विकासको जिम्मेवारी पार्टीमा रहेकाले एकताबद्ध भएर जुट्नुपर्नेमा जोड दिनुभयो ।
सचिव विश्वकर्माले गणतन्त्र दिवसकै दिन यसको रक्षाको सङ्कल्प र अठोट गर्नुपर्ने छ भन्दै विशेष उत्सवमा सबै विभागबाट सिङ्गोपङ्ती अनिवार्यरूपमा उपस्थित हुन आग्रह गर्नुभयो । 
बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू भीम आचार्य, काशीनाथ अधिकारी, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ लगायत विभाग प्रमुख रहनुभएमा नेताहरू, विभाग सचिव र सदस्यहरूको उपस्थिति रहेको थियो । ]