detail-img

विपद् जोखिम न्यूनीकरणका लागि एमालेद्वारा विभिन्न कार्ययोजना तय

१३ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागले विपद् जोखिम न्यूनीकरण सम्बन्धमा विभिन्न कार्ययोजना तय गरेको छ । विभागद्वारा मङ्गलबार काठमाडौंमा सम्पन्न विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशालाले तत्कालीन रूपमा गर्नुपर्ने कार्यहरूसहित दश बूँदे कार्ययोजना पारित गरेको हो ।
कार्ययोजनाहरूमा सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्व तयारी र सचेतनाका कार्यहरूमा ध्यान दिने, केन्द्रमा केन्द्रीय सम्बद्ध संरचना र जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अङ्गहरूमा सम्भावित बाढी–पहिरो र डुबानको जोखिमको सम्बन्धमा के–कस्तो पूर्व तयारी भइरहेको छ भन्ने सम्बन्धमा डेलिगेशन जाने, रेडक्रससहित उद्धार र राहतमा भूमिका खेल्ने संघ–संस्थाहरूको पहिचान गर्ने र आवश्यकता अनुसार सहयोगको वातावरण निर्माण गर्ने रहेका छन् । 
त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त वस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन सम्भव उपायको खोज गर्ने, बाढी–पहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुननिर्माणमा तत्परता देखाउने लगायतका रहेका छन् । 
कार्ययोजनामा जिल्लामा स्थानीय विपद् सम्बद्ध निकायहरूमा रहेका उद्धार सामग्री र उपकरणहरूको बन्दोवस्तीलाई तयारी अवस्थामा राख्न सचेत गर्ने, मोवाइल, टेलिफोन आदिको सूचना प्रणालीलाई दुरुस्त राख्ने, मातहत कमिटीहरू र जनसङ्गठनहरूलाई विपद जोखिम न्यूनीकरण सम्बन्धमा स्वयंसेवकीय भूमिकाको लागि तयार गर्ने र पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले जतिबेला पनि आफूलाई जनताको सम्पर्कमा राख्ने तथा मौसम सम्बन्धी पूर्व जानकारी लिने र पार्टीपङ्क्ति एवं जनतालाई समेत सचेत गराउन पहल गर्ने कुराहरू पनि उल्लेख गरिएको छ । 
कार्यशालालाई सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि पार्टीले नीतिगत नेतृत्व र व्यावहारिक संयोजन गर्ने बताउनुभयो । पूर्व तयारी, राहत, उद्धार जस्ता कार्यहरूका लागि तत्परताका साथ लाग्न पार्टीपङ्क्तिलाई निर्देशन दिदै महासचिव पोखरेलले सम्भावित क्षतिबाट जोगाउन र जोगिन समन्वय, सहकार्य र संयोजन जरूरी हुने चर्चा गर्नुभयो । स्थानीय जनता पहिलो उद्धारकर्ता हुने बताउँदै उहाँले त्यसका लागि पार्टीपङ्क्ति तथा स्थानीय स्वयंसेवकहरूलाई तालीम दिन जरूरी रहेको धारणा व्यक्त गर्नुभयो । 
पार्टीका पोलिटव्यूरो सदस्य तथा विभाग प्रमुख खिमलाल भट्टराईले कार्यशालामा कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । उहाँले सबै जिल्लामा एमालेका विभाग विस्तार गरेर स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी, राहत तथा उद्धारका लागि पार्टीपङ्क्ति सक्रिय रहने बताउनुभयो ।    
कार्यशालामा विपद व्यवस्थापन विज्ञ डा.वसन्तराज अधिकारीले विपद जोखिम व्यवस्थापनबारे अबधारणा पत्र प्रस्तुत गर्दै यस बर्ष विगतमा भन्दा बढी बर्षासंगै तापक्रम पनि बढ्ने भएकाले त्यसबाट हुनसक्ने जोखिमबारे सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । विगतका क्षतिको तथ्य र सम्भावित जोखिमहरूबारे पुर्वानुमान प्रस्तुत गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विभिन्न तहका सरकार, समुदाय र दलहरूको सक्रियता जरूरी रहेको चर्चा गर्नुभयो । 
विभागका प्रमुख भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवाहरू, सरोकारवाला र पार्टीका नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो । भौतिक उपस्थितिसंगै कार्यक्रममा भर्चुअल माध्ययमबाट विभिन्न जिल्लाका पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो ।