१३ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गर्न लागेको गणतन्त्र उत्सव कसैसँग भिड्नका लागि नभएको बताउनुभएको छ ।
नेकपा (एमाले) बाग्मती सम्पर्क कमिटीको विस्तारित बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै गणतन्त्र दिवसलाई विशेष र स्मरणीय बनाउन आयोजना गर्न लागिएको कार्यक्रम कसैसँग भिड्नका लागि नभई विशुद्ध गणतन्त्र दिवस मनाउनका लागि हो भन्नुभयो ।
राजावादी आन्दोलन प्रभावित पार्न एमालेले कार्यक्रम आयोजना गरेको चर्चा भइरहेका बेला उपमहासचिव ज्ञवालीले विशेष उत्सवबारे स्पष्ट पार्नुभएको हो ।
हरेक वर्ष एमालेले लोकतन्त्र, गणतन्त्र र संविधान दिवसलाई विशेषरूपमा मनाउँदै आएको र जेठ १५ गते भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रम त्यसैको निरन्तरता भएको उहाँको भनाइ छ । एमालेले काठमाडौं उपत्यकामा भृकुटीमण्डप र उपत्यकाबाहिर देशैभर कार्यक्रम आयोजना गरी गणतन्त्र दिवसलाई विशेषरूपमा मनाउन लागेको उपमहासचिव ज्ञवालीले जानकारी गराउनुभयो ।
यस्तै, उहाँले बजारमा हल्ला चलिरहेको जस्तो गणतन्त्र अफ्ठेरोमा नपरेको पनि स्पष्ट गर्नुभयो । तर, गणतन्त्रविरुद्ध कसैले धावा बोल्छ भने गणतन्त्रवादी शक्तिहरू मौन बस्न नहुने धारणा उपमहासचिव ज्ञवालीको छ । उहाँले लोकतन्त्र र राजतन्त्र सँगै जाने र लैजाने अभ्यासहरू यसअघि पनि पटक–पटक भइसकेको र त्यो सफल नभएकाले अब त्यस्तो अभ्यास नदोहोरिने बताउनुभयो ।