१३ जेठ (२०८२), पोखरा । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित हुनुभएको छ ।
संघको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट थेवे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।
मतगणना परिणाम अनुसार थेवेले अध्यक्षका अर्का प्रत्यासी सुमन पुरीलाई १९८ मत अन्तरले पछाडि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा एकहजार ४०४ मत खसेको थियो । जसमध्ये थेवेले ७९६ मत प्राप्त गर्नुभयो भने पुरीले ६०८ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं निर्वाचित हुनुभएको छ । यस्तै उपमहासचिवमा उपेन्द्र शाही, सचिवहरूमा मदन भण्डारी, निशा लिम्बू मोविन, अख्तर आलम र अरुण कुँवर निर्वाचित हुनुभएको छ । केन्द्रीय कमिटीका ६४ पदमा निर्विरोध भएको थियो भने नौ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको थियो ।