detail-img

प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवन शिलान्यास

१४ जेठ(२०८२), काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुभएको छ । 
काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्नुहुँदै  उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भन्नुभयो । 
केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै उहाँले कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाउनुभयो ।
‘अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरू त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुुभयो– तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरूले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।
प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।
उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुई करोड ९६ लाख यान अनुदान दिनेछ । सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोको नेपाल भ्रमणका क्रममा उक्त सम्झौतामा दुईपक्षीय हस्ताक्षर भएको थियो । 
यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो । शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, संघीय सांसद् गोकुलप्रसाद बाँस्कोटालगायत सहभागी हुनुहुन्थ्यो । ‎