detail-img

गणतन्त्र उत्सवमा सबै गणतन्त्रवादी दलका नेताकार्यकर्तालाई सहभागी हुन आह्वान  

१४ जेठ (२०८२), काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन गणतन्त्र उत्सव मनाउन थालिएको बताउनुभएको छ । 
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले  गणतन्त्रलाई उत्सवको रुपमा हुँदैछ भन्ने थालनी आफूहरूले भोलिको गणतन्त्त उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– संविधान सभाको ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौं, त्यस्तो अवस्थामा गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनुपर्छ भन्ने हाम्रो पार्टीले महसुस गर्यौं र जेठ १५ गते गणतन्त्र उत्सव मनाउने निर्णण गर्यौं र तयारीमा जुटेका छौं ।
उहाँले गणतन्त्र उत्सव साँस्कृतिक झाँकी, बाजागाजासहित मनाइने स्पष्ट गर्नुभयो । 
‘हाम्रो देश भाषिक, जातीय र सांस्कृतिक विविधताले धनी देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाई जनउत्सवको रूपमा मनाउने भएकाले त्यो विविधतालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौं’, उहाँले भन्नुभयो– हाम्रो  कार्यक्रम विभिन्न जातजाति, समुदायका सांस्कृतिक भेषभूषा, बाजाजागा झाँकीसहित हुने छ । यसले एउटा विशिष्ट  छाप छाड्ने छ ।
उहाँले गणतन्त्र दिवसको महत्वलाई ध्यानमा राखी बजेट प्रस्तुत गर्ने दिन अगाडि वा पछाडि राख्नु उपयुक्त हुने धारणा राख्नुहुँदै राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने बताउनुभयो ।
‘जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापित गर्ने काम गर्यो । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो– त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ । 
महासचिव पोखरेलले कसैको विरोध होइन, जनताले प्राप्त गरेको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रूपमा गणतन्त्र उत्सव आयोजना गर्न थालेको स्पष्ट गर्नुभयो । 
उहाँले एमाले मात्र होइन सबै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रूपमा मनाउने कुरामा हातेमालो गर्न आग्रह गर्नुभयो ।